काठमाडौं- विभिन्न राजनीतिक दल र संघसंस्थाले ०४७ सालको संविधान ब्युँताउन सत्याग्रह गर्ने भएका छन्।
लोकतन्त्र र गणतन्त्र देशका लागि अफाप सिद्ध भएको उनीहरूको दाबी छ। ०४७ सालको संविधान स्थापना, संवैधानिक राजसंस्था र धार्मिक स्वतन्त्रतासहितको हिन्दु राज्यको माग गर्दै २३ जेठदेखि माइतीघर मण्डलामा सत्याग्रह गरिने उनीहरूले बताए।
‘सरकारमा रहेका पदाधिकारीबीच भारत जाने होडबाजी चलेको छ। गणतन्त्र र लोकतन्त्र हाम्रो देशका लागि अफापसिद्ध भएको छ। ०४७ सालको संविधानका लागि हामी यथाशिघ्र सत्याग्रह गर्ने भन्ने हामीले तयारी गरेका छौं,’ रिपोर्टर्स क्लबको कार्यक्रमका सञ्चालक नरेशमान सिंहले भने।
सत्याग्रह अभियानका संस्थापक अध्यक्ष किशोरी महतोले अबको सत्याग्रह जनताले राजा गुहार्नका लागि भएको बताए। अभियन्ता हरिबोल भट्टराईले देशलाई भ्रष्टाचारको अजिंगरले निल्नै लागेको टिप्पणी गरे।
स्वतन्त्र नागरिक समाजका संयोजक रामकुमार रिजालले ०४७ सालको संविधान, राजसंस्था र संवैधानिक राजतन्त्रको मागसहित आफूहरू सत्याग्रहमा होमिन लागेको बताए। सोमविक्रम सिंहले तीन करोड नेपालीमध्ये राष्ट्रियता सीमित व्यक्तिमा मात्रै बिझेको टिप्पणी गरे।
संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाका अध्यक्ष शेखरजंग रायमाझीले ०४७ सालको संविधानको माग गर्दै सत्याग्रह अगाडि बढ्नु सकारात्मक हुने बताए। सत्याग्रह अभियानका राजनीतिक संयोजक अनिल योगीले ०४७ सालको संविधानको पक्षमा उभिनु राष्ट्रिय स्वाधीनताको विषय भएको बताए।