काठमाडौं- माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित भएको भन्दै अहिले टिकटकमा एउटा भिडियो भाइरल भएको छ। @shahilbhndari08 नामक टिकटक प्रयोगकर्ताले गत जेठ १३ गते भिडियो क्लिप पोस्ट गर्दै लेखेका थिए, ‘एसईईको नतिजा सार्वजनिक।’ करीब १० सेकेन्डको उक्त भिडियोमा एउटा समाचारको क्लिप छ। १८ जेठसम्म त्यसलाई भिडियो २१ लाख बढी पटक हेरिएको छ भने ७५ हजारभन्दा बढी लाइक र २७०० भन्दा बढी पटक सेयर गरिएको छ।
भिडियोमा एक महिलाले वाचन गरेको समाचारमा भनिएको छः
‘परीक्षा नियन्त्रण कार्यालयद्वारा एसईईको नतिजा सार्वजनिक। १६ हजारले ल्याए ‘ए प्लस’। त्यसतलको ग्रेड ल्याउने पुरक परीक्षामा सहभागी हुनसक्ने।’
उक्त टिकटक पोस्टमा आएका प्रतिक्रियामध्ये अधिकांशले त्यो भिडियो पुरानो भएको बताएका छन्।
तथ्य जाँच

नेपाल टाइम्स अनलाइनकाे फेसबुक पेजमा १२ असार ०७६ मा पाेस्ट गरिएकाे भिडियाेकाे स्क्रिनसट
हामीले तथ्य जाँचका लागि सर्वप्रथम ती किवर्ड प्रयोग गरी गुगलमा खोज्यौं। तर, उक्त भिडियो फेला परेन। त्यसपछि हामीले समाचारमा भनिएका तिनै शब्द राखेर फेसबुकमा खोज्यौं। फेसबुकमा एकमुष्ट खोज्दा नभेटिएपछि भिडियोमा क्लिक गर्यौं। त्यसपछि सो समाचार नेपाल टाइम्स नामक अनलाइनको फेसबुक पेजमा १२ असार ०७६ मा पोस्ट गरिएको फेला पर्यो।
सो मितिलाई पछ्याउँदै हामीले नेपाल टाइम्सको युट्युब च्यानमा सो भिडियो फेला पार्यौं। समाचार वाचिका रश्मिता उदासले टप फिफ्टिन नामक कार्यक्रममा उक्त समाचार वाचन गरेकी थिइन्। यस्तै, १२ असार ०७६ मा नागरिक बहस अनलाइनमा पनि सोही समाचार प्रकाशित भएको थियो।

नेपाल टाइम्स अनलाइनकाे युट्युब च्यानलमा १२ असार ०७६ मा पाेस्ट गरिएकाे भिडियाेकाे स्क्रिनसट
नेपाल टाइम्सको युट्युब च्यानमा राखिएको भिडियो ५ मिनट लामो छ। तर, त्यसलाई काँटछाँट गरी सन्दर्भ लुकाई भाइरल बनाइएको छ। झण्डै ४ वर्षअघिको समाचार प्रयोग गरी भिडियो फैलाइएको भिडियो भ्रामक रहेको हाम्रो निष्कर्ष छ। २०७८ सालमा भएकाे एसईई परीक्षाकाे नतिजा आउन बाँकी नै छ ।

यो सामग्री नेपालचेक डट ओआरजीले तयार पारेको हो