काठमाडौं– २९ वैशाखमा काठमाडौंका ६७ वर्षीय हेमबहादुर कडायतको निधन भयो। निमोनियाका कारण निधन भएका कडायतले त्यसअघि आफ्ना आँखा अरूलाई ज्योति दिन दान गर्ने घोषणा गरेका थिए। सोहीअनुसार परिवारजनले पशुपति आर्यघाटमा दाहसंस्कारअघि प्राविधिकलाई बोलाए।
त्यसका लागि आर्यघाट पुगेका थिए, तिलगंगास्थित आँखा प्रतिष्ठानको आँखा बैंकका प्राविधिक सुन्दर महत। शिक्षित परिवार भएकाले उनको आँखा दानका लागि मनाउन महतलाई समय लागेन। र, परिवारको सहमतिमा उनलाई कुनै सरुवा रोग थियो, थिएन, रक्त क्यान्सरबाट पीडित थिए, थिएनन् भन्ने जाँच गरियो। र, कडायतको शवबाट आँखाको कर्निया निकालियो, जुन एकदमै स्वस्थ थियो।
आर्यघाटबाटै २७ वैशाखमा महत र उनको टिमले ३ जना दाताको शवबाट कर्निया झिकेका थिए। उनीहरूको उमेर ३७, ६३ र ७० वर्ष थियो। र, उनीहरू दाङ, मोरङ र भक्तपुरका बासिन्दा थिए।
नेपालमा आँखा दानको इतिहास करिब तीन दशकको छ। र, यसरी नै दाहसंस्कारका लागि घाट पु¥याइएका दाताको आँखा निकालिन्छ र अरूलाई ज्योति दिइन्छ। नेपालमा पहिलोपटक आँखा दान गर्ने काठमाडौंकी चिनीमैयाँ तुलाधार हुन्। उनको जन्म विसं २००६ मा भएको थियो भने मृत्यु ०५१मा।
आँखा दान गर्नुलाई सबैभन्दा पुण्यको काम मानिन्छ। मानिसको मृत्युपछि पनि आँखा, छाला, मिर्गौलालगायत मानव अंगहरू केही समय जीवित रहन्छन्। त्यसकारण मरेर खरानी बन्ने अंगले कसैको आँखाको ज्योति र कसैलाई जीवित राख्न मद्दत पुग्छ। तर, अझै पनि मृत्युपछि अंगदान गर्ने विषय सहज बनिसकेको छैन।
प्रतिष्ठानका प्राविधिक महतका अनुसार एक स्वस्थ मानिसको मृत्युपछि लिइएको कर्नियाले ४ जनाको आँखाको ज्योति फर्काउन मद्दत पुग्छ। ‘हाम्रो आँखामा ५ तह हुन्छन्। ती तहबाट अगाडि र पछाडिको कुन राम्रो छ, त्यही लिएर ४ जनालाई देख्न सक्ने बनाइन्छ,’ उनी भन्छन्, ‘नेपालमा सन् २०१२ देखि २०२३ सम्म करिब डेढ लाखजना इच्छित व्यक्तिले मृत्युपछि आँखा दान गर्ने भनेका छन्। आँखा दानको यो क्रम बढिरहेको छ।’
आँखा दान भनेको डल्लो नै निकाल्नु होइन
कसैले आँखा दान गर्न चाहेमा मृत्यु भएको ६ देखि ८ घण्टासम्म कर्निया निकाल्नुपर्ने विश्वव्यापी मान्यता छ। तर, मृत्युपछि शवको आँखा बन्द गरिएको छ भने १८ देखि २० घण्टासम्म निकाल्न सकिन्छ। जतिसक्दो छिटो निकालिएको कर्नियाले अन्य नेत्रहीन व्यक्तिको आँखाको ज्योति फर्काउन सहज हुन्छ।
सामान्यतया आँखा दान भन्नाले सबैको मानसपटलमा आँखाको डल्लो नै निकाल्नु भन्ने बुझाइ बाक्लो छ। यथार्थ त्यस्तो होइन। ‘आँखा दान भन्नाले आँखाको डल्लो नै निकाल्ने होइन। आँखाको कालो भागलाई ढाकेको सेतो पातलो पारदर्शी झिल्ली मात्र निकालिन्छ, जसलाई कर्निया भनिन्छ,’ महत भन्छन्।
कर्निया दान गर्दा अनुहारको आकृतिमा कुनै किसिमका कुरुपता आउँदैन। दक्ष स्वास्थ्यकर्मीको सहायतामा मृतक व्यक्तिको आँखाबाट कर्नियालाई करिब १५ मिनटमै निकाल्न सकिन्छ।
सहज छैन दाता खोज्न
पशुपति आर्यघाटमा दैनिक कैयौं मृतकको दाहसंस्कार हुन्छ। तीमध्ये कतिका परिवारले काठबाट परम्परागत तरिका त कतिले विद्युतीय शव दाहगृहमा दाहसंस्कार गराउँछन्।
विद्युतीय प्रविधिबाट दाहसंस्कार गर्ने भवनमै तिलगंगा आँखा बैंकका स्वास्थ्यकर्मीहरू महत, ईश्वर पराजुली र राजु राजवाहक दाताको कर्निया झिक्न खटाइएका छन्।
प्राविधिक महतले दाताको कर्निया निकाल्न थालेको करिब १२ वर्ष भयो। उनी सन् २०१२ देखि तिलगंगा आँखा बैंकमा कार्यरत छन्। ईश्वर र राजु भने तिलगंगासँग जोडिएको ६ महिना बित्यो। उनीहरू महतसँग काम सिक्दै छन्।
उनीहरूको काम दिनहुँ पशुपतिमा दाहसंस्कारका लागि ल्याइने मृतकको परिवारसँग मृतकको आँखा दानबारे परामर्श गर्ने र कर्निया झिकेर आँखा बैंकमा पु¥याउने हो। योे काम उनीहरूका लागि सहज भने छैन। शोकमा परेका परिवारसँग मृतकको आँखादानबारे कति परिवार उनीहरूसँग झर्किन्छन् त कतिले परामर्शपछि दान दिन सहमति जनाउँछन्।
पशुपति आर्यघाटमा कुनै दिन ४–५ जनाको शवबाट पनि कर्निया निकालिन्छ। कुनै दिन भने कसैको परिवारलाई जति सम्झाउँदा पनि मान्दैनन्। र, एकजना पनि दाता भेटिँदैन। महत भन्छन्, ‘कति आँखा दानजस्तो सर्वोत्कृष्ट दान गर्न पाउँदा खुशी हुन्छन् कतिले शोकको आवेगमा आएर गालीगलौज पनि गर्छन्। कतिपय त यस्ता पनि हुन्छन्, जसले हामीलाई अंग तस्करीको आरोपसमेत लगाउँछन्।’
त्यसैले आँखा दानका लागि मृतकको परिवारलाई राजी गराउनु उनीहरूका लागि निकै चुनौतीपूर्ण कार्य हो। महतका अनुसार धेरैले आँखा दान भन्नेवित्तिकै आँखाको डल्लोलाई झिकेर लिनु बुझेका छन्। आँखाको डल्लो नै झिकेर लग्दा अनुहारमा कुरुपता आउँछ भन्ने बुझेकाले पनि मृतकको परिवारले आँखा दान गर्न संकोच मानेकोजस्तो देखिने उनी बताउँछन्। त्यसकारण आँखा दान भनेको आँखाको डल्लो नभई कालो भागमा रहेको सेतो पातलो झिल्ली दान गर्नु हो भन्नेबारे धेरैले बुझ्नुपर्ने उनको भनाइ छ।
कुन अवस्थामा आँखा दान गर्न मिल्दैन
आँखा दान गर्न सहमत भएका सबै व्यक्तिबाट आँखाको कर्निया झिक्न मिल्दैन। यसका आफ्नै मापदण्ड छन्। खासगरी, क्षयरोग, एचआईभी–एड्स, रेबिज, हेपाटाइटिस ए र बी, रगतमा इन्फेक्सन भएका व्यक्तिका आँखाको कर्निया निकालिँदैन। रगतको क्यान्सर र लामो समय प्यारालाइसिस भएका व्यक्तिको पनि कर्निया झिक्न नमिल्ने महत बताउँछन्। भन्छन्, ‘उमेरका आधारमा पनि २ देखि ७५ वर्षसम्मका व्यक्तिको आँखा दानमा लिइन्छ। ७५ वर्षमाथिका ज्येष्ठ नागरिकको आँखा दानमा लिइँदैन। २ देखि ७५ वर्षका मानिसबाट झिकिएको कर्निया जुनसुकै उमेरको व्यक्तिलाई पनि प्रत्यारोपण गर्न सकिन्छ।’
आँखा दान गर्न परिवारबाट मञ्जुरी पाएपछि मृतकको स्वास्थ्य परीक्षण गरिन्छ। परीक्षणमा मृतकलाई कुनै किसिमको सरुवा रोग देखापरेमा कर्निया निकालिँदैन। खासगरी, बालबालिका खेल्दाखेल्दै आँखामा चोट लाग्यो या गाडी दुर्घटनामा परी कसैको आँखाको ज्योति गुम्यो भने उनीहरूको ज्योति फर्काउन कर्निया आवश्यक हुन्छ। कम उमेरका दाता नपाएको खण्डमा ८०–८५ वर्ष उमेरका मानिसको आँखा पनि दानमा लिने गरिन्छ। तर, त्यसका लागि उनीहरूको आँखा सफा हुनुपर्छ र कुनै आर्कसले ढाकेको हुनु हुँदैन।
त्यसैका लागि हो, कर्निया निकाल्नुअघि शवको स्वास्थ्य परीक्षण आवश्यक हुने पनि। त्यसो त, आँखा दान पशुपति आर्यघाटमा मात्र लिइँदैन। ठूला अस्पतालबाटै पनि मानिसको मृत्युपछि कर्निया निकाल्ने गरिन्छ। राजधानीका वीर, त्रिवि शिक्षण, पाटन, गंगालाल हृदयरोग केन्द्रलगायत अस्पतालबाट पनि दाताको आँखाबाट कर्निया निकालिन्छ। महतका अनुसार वार्षिक १ हजारदेखि १२ सय दाताबाट कर्निया संकलन गरिन्छ।
महत भन्छन्, ‘कसैले जन्मदेखि नै संसार देख्न पाएको हुँदैन। तर, कसैको राम्रो आँखा मृत्युपछि आगोमा जलेर जान्छ। परिवारलाई सम्झाउँदा पनि नमान्दा त्यो अवस्थामा साह्रै नराम्रो लाग्छ।’
के कुरामा ध्यान दिने ?
आँखा दान गर्ने व्यक्तिको मृत्युपछि आँखा बन्द गरिदिनुपर्छ। आँखामा अविर, केसरी पस्न दिनु हुँदैन। घाम भएको स्थानमा नराखी शीलतमा राख्ने, सफा कपडाले आँखा छोपिदिनुपर्छ। यी कुरामा ध्यान दिन नसक्दा चाँडै आँखा सुक्खा हुन्छ र बिग्रिन्छ। महत भन्छन्, ‘कर्निया झिक्न गर्मीभन्दा जाडो याम उपयुक्त हुन्छ। गर्मीमा आँखाका सेलहरू सुक्खा भई चाँडै मरेर जाने भएकाले आँखा दान लिन गर्मीभन्दा जाडो याम उपयुक्त हो।’
उनका अनुसार पशुपति आर्यघाटबाट मात्रै गत मार्चमा ३९, अप्रिलमा ३३ जनाको आँखा दान लिइएको थियो। आँखा दान निःशुल्क लिने–दिने हो। तर, कर्निया राख्न सोलको आवश्यकता पर्छ। जुन नेपालमा बन्दैन र भारतबाट ल्याउने गरिन्छ। त्यसकारण यो प्रक्रिया पूरा गर्न २५ देखि ३० हजार रुपैयाँसम्म खर्च हुन्छ। कर्निया झिकेको करिब १४ दिन जोगाएर राख्न सकिन्छ। अहिले १४ दिनसम्म पनि राख्नु पर्दैन। आँखाको माग धेरै र संकलन कम भएकाले ४–५ दिनमै त्यसको उपयोग हुन्छ।
विदेश पनि पठाइन्छ कर्निया
दशैं, तिहार वा अन्य विदाको समयमा डाक्टरहरू विदामा बस्दा या टाढाको बिरामी विविध कारणले समयमै आउन नसकेको अवस्थामा संकलन भएको कर्निया १४ दिनभित्र बिग्रेर जान सक्ने भएकाले त्यस्तो अवस्थामा मानवीय सहयोगको रूपमा समन्वय गरेर विदेशमा पनि कर्निया पठाउने गरिन्छ।
नेपालमै आवश्यक हुँदाहुँदै अर्को देशमा भने पठाइँदैन। केही समयअघि डा. सन्दुक रुइतले अफ्रिकी मुलुक घानामा नेपालबाट कर्निया लगेका थिए। बंगलादेश, भुटान, भारतलगायत देशमा पनि नेपालबाट कर्निया पठाइने गरेको महत बताउँछन्।