काठमाडौं- नेपाली फेसबुक र ट्विटर प्रयोगकर्ताहरूले हुण्डरीले तहसनहस पारेको मेवा खेतीको फोटो हालै सेयर गर्दै त्यो दृश्य नेपालको भएको दाबी गरेका छन्। गत ३१ वैशाखमा ट्विटर प्रयोगकर्ता @lux_subedi ले सो फोटो सहित यस्तो ट्विट गरेः
कोही माछा पोखरामा विष फ्याँकिदिन्छन् । कोही कुखुरा र बाख्राको खोरमै आगो लगाइदिन्छन् । कोही बालीमा विष ‘स्प्रे’ गरिदिन्छन् । विनाश गरिदिन्छन् । गरिखान नदिने दुष्ट मानसिकता भएको समाजमा छौँ हामी । यस्तै खुट्टा तान्ने, भलो नचिताउने आपराधिक मानसिकताको कारणले हामीले आर्थिक फड्को मार्न सक्दैनौँ, कहिल्यै सक्दैनौँ । श्राप पर्छ, पाप लाग्छ। घटना नेपालकै हो, हेर्नुहोस् ।
उक्त ट्विट १८००० भन्दा बढीपटक हेरिएको छ भने ३७ पटक रिट्विट भएको छ । उनको ट्विटमा कतिपयले त्यो श्रीलंकाको तस्बिर भएको बताएका छन्। त्यसैगरी कैयौँ फेसबुक पेज र ग्रुपले पनि सुवेदीको स्टाटस सहित सो फोटो सेयर गरेका छन्।

हामीले फोटोको स्रोत फेला पार्न रिभर्स इमेज सर्च प्रयोग गर्यौं। तस्बिर २६ मे २०२१ मा @SrilankaTweet ले ट्विट गरेको फेला पर्यो । उक्त ट्विटमा हावाहुरीका कारण वावुनियाको ओलुमाडु क्षेत्रका एक युवा किसानको ६ सय मेवाका बोटमा क्षति पुगेको जनाइएको छ । त्यसमा श्रीलंकाली पत्रकार @PragasGnanam लाई उल्लेख गरिएको थियो।
हामीले यस सूचनाका आधारमा इन्टरनेटमा थप खोजी गर्यौं । श्रीलंकाको हिरु न्यूज नामक अनलाइनले दुई वर्षअघि उत्तरी श्रीलंकाको सो क्षेत्रमा हावाहुरीले मेवालाई क्षति पुर्याएको समाचार प्रकाशित गरेको पाइयो।

यस्तै, श्रीलंकाको अर्काे अनलाइनले पनि स्थानीय किसानलाई उद्धृत गर्दै समाचार प्रकाशित गरेको छ । समाचारमा २५-२६ मे २०२१ मा आएको हावाहुरीले मेवा र केराका बाली प्रभावित भएको जनाइएको छ। उत्तरी श्रीलंकामा विनाशका कारण त्यहाँका किसानले करोडौंको क्षति बेहोर्नु परेको समाचारमा जनाइएको छ ।
तसर्थ, उक्त तस्बिर नेपालको खेतबारीमा भएको क्षति होइन, दुई वर्षअघि श्रीलंकामा भएको घटनाको हो भन्ने नेपाल चेकको ठहर छ।

यो सामग्री नेपालचेक डट आआरजीले तयार पारेको हो