काठमाडौं- सरकारले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको सजाय माफी गर्ने तयारी थालेको छ।
टिकापुरमा घटनामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका उनको बाँकी सजाय माफीको फाइल गृह मन्त्रालयबाट राष्ट्रपति कार्यालयमा पुगेको छ।
जन्मकैदको सजाय भुक्तान गरिरहेका चौधरीलाई जेष्ठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिमार्फत सजाय माफी गराउने तयारी भइरहेको हो।
चौधरीको सजाय माफी सम्बन्धी २० वटा फाइल बुधबार राष्ट्रपति कार्यालयको कानुन साखामा पुगेको राष्ट्रपति रामचन्द्र पौडेलका एक सल्लाहकारले जानकारी दिएका छन्।
यस विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्ड मंगलबार साँझ राष्ट्रपति कार्यालय पुगेको राष्ट्रपति पौडेलका ती सल्लाहकारले बताएका छन्। ‘राष्ट्रपतिज्यूसँग यसबारेमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसहितको टिम आएको थियो।’ उनले भने।
फाइल धेरै ठूलो भएकाले अध्ययन गरेर सकेपछि मात्रै राष्ट्रपतिकाेमा पुग्ने उनले बताए।
संविधानको धारा २७६ मा राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानून बमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्ने व्यवस्था छ ।
मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ अनुसार गृह मन्त्रालयले सजाय माफीको प्रक्रिया अघि बढाएर फाइल राष्ट्रपति कार्यालयमा पठाइएकाे छ। ऐनको दफा १५९ मा अदालतको फैसलाबाट सजाय पाएको व्यक्तिले माफी पाउन, मुल्तवी राख्न, परिवर्तन वा कम गर्न गृह मन्त्रालय मार्फत राष्ट्रपतिलाई निवेदन दिनसक्ने व्यवस्था छ।
जन्मकैदको सजाय पाएका चौधरी १५ फागुन, २०७४ देखि २० वर्षकाे कैद भुक्तान गरिरहेका छन्।