काठमाडौं- राष्ट्रिय एकता अभियानका नेता मनिष पुर्वेमाथि आइतबार राति जनकपुर जाने क्रममा अज्ञात समूहले आक्रमण गरेको छ।
बर्दिवासबाट जनकपुर जाँदै गरेका पुर्वेलाई राति करिब ८ बजे गुडिरहेको सार्वजनिक बसमा चारजनाको अज्ञात समूहले विषालु ग्यास सुँघाएर बेहोस बनाई नियन्त्रणमा लिएको थियो। उनलाई निर्मम कुटपिट गरी मरणासन्न अवस्थामा नजिकैको खोलामा फ्याँकिएको थियो।
होशमा आउँदा आफू खोला किनारमा भएको पुर्वेले बताएका छन्। उनलाई उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। पुर्वेको टाउको, खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको छ।
अभियानका राष्ट्रिय अध्यक्ष विनय यादवले सोमवार विज्ञप्ति जारी गर्दै हिन्दू समाजको सेवामा आफूलाई समर्पित गरेका व्यक्तिमाथिको आक्रमण निर्लज्जताको पराकाष्ठा भएको बताएका छन्। उनले स्तब्ध पार्ने यस घटनाको गहिरो र निष्पक्ष छानविन गर्न सुरक्षा निकायसँग माग गरेका छन्।

‘यस जघन्य कार्यमा संलग्न अपराधीहरूलाई छिट्टै पहिचान गरी पक्राउ गरी कानूनी दायरामा ल्याउन जरुरी छ। हामी कुनै पनि प्रभाव वा पूर्वाग्रहरहित निष्पक्ष छानविनको माग गर्दछौं,’ अध्यक्ष यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी स्थानीय समुदाय, कानून व्यवसायी र आम नागरिकहरूलाई सहयोग गर्न र अनुसन्धानमा मद्दत गर्न सक्ने कुनै पनि जानकारी भए उपलब्ध गराएर सहयोग गर्न पनि अपिल गर्दछौं।’