काठमाडाैं– सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको विभागीय टोली त्रिभुवन आर्मी क्लब र एफसी खुमलटार क्लबबीचको खेल बराबरीमा सकिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा आर्मी र खुमलटार क्लबबीचको खेल दुई-दुई गोलको बराबरी सकिएको हो। खेलमा सुरुआती अग्रता भने आर्मीले लिएकाे थियाे।
आर्मीका लागि जगजित श्रेष्ठ र नवयुग श्रेष्ठले एक-एक गोल गरे। यता खुमलटारका मेसुके ओलुमोउ र स्टेफेन समिरले एक-एक गोल गरे। खेलको १४औँ मिनेटमा आर्मीका जगजितले फ्रिकिकमार्फत गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाए।
त्यस्तै खेलको ३५औँ मिनेटमा खुमलटारका मेसुकेले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए। त्यसपछि खेलको ५१औँ मिनेटमा आर्मीका नवयुगले गोल गर्दै खेललाई दुई-एकको स्थितिमा ल्याए।
त्यसपछि खेलको ७५औँ मिनेटमा खुमलटारका स्टेफेन समिरले गोल गर्दै खेललाई दुई-दुई गोलको बराबरीमा ल्याए।
यसपछि खेलमा गोल हुन सकेन र खेल दुई-दुई गोलको बराबरीमा सकियो। यस बराबरी खेलसँगै आर्मीले १९ खेलमा २६ अङ्क जोडेको छ भने समान खेल खेलको खुमलटारले १८ अङ्क जोडेको छ।