वीरगञ्ज- वीरगञ्ज प्रहरीले सुन, हिरा तथा विभिन्न बहुमुल्य पत्थरहरू सहित एक भारतिय नागरिकलाई पक्राउ गरेकाे छ।
भारतबाट अवैधरूपमा सुन, हिरा तथा विभिन्न किसिमका पत्थरहरू नेपाल ल्याउँदै गरेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले भारत हौँडा जिल्ला निवासी ४५ वर्षीय बुद्धदेव मैतीलाई शुक्रबार बिहान वीरगञ्जस्थित शंकराचार्य गेट नजिकबाट पक्राउ गरेकाे हाे।
प्रहरीले उनकाे साथबाट गाढा निलो रङको ज्याकेटको गोजीमा लुकाई छिपाई राखिएको सुन जस्तो देखिने पहेलो धातुको सिक्री २७ थान (२२४.८ ग्राम) हिरा जस्तो देखिने टल्कने कालो सेतो पत्थर २१.९ ग्राम, पोल्की हिरा जस्तो देखिने पत्थर ५.२० ग्राम, हरियो पन्ना जस्तो देखिने पत्थर ६.७८ ग्राम, रातो रुबी जस्तो देखिने पत्थर ८.४९ ग्राम, निलो रंगको निजम २.३८ ग्राम, तलमरी पत्थर ७२ ग्राम, रूबी जस्तो देखिने रातो पत्थर २१ ग्राम, रातो रंगको (आर्टिफिसियल) स्टोन ११.६०० ग्राम बरामद गरेकाे छ।
उक्त बरामद भएका पत्थरहरूकाे अन्दाज मुल्य २९ लाख ४४ हजार छ सय ३३ नेपाली रुपैया रहेकाे प्रहरीले जानकारी दिएकाे छ।
प्रहरीले उक्त सामानसहित थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बुझाइएको बताएकाे छ।