काठमाडौं- संघीय संसदका दुवै सदनको बजेट अधिवेशन आजदेखि शुरु हुँदैछ।
राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेअनुरुप सदनको बजेट अधिवेशन शुरु हुन लागेको हो। आज अपराह्न ४ बजेदेखि अधिवेशन शुरु हुँदैछ।
सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुने भएकाले संसदको वर्षे अधिवेशनको विशेष महत्त्व छ।
अधिवेशन प्रारम्भसँगै प्रि-बजेट छलफल गरिन्छ। आजै सरकारले आर्थिक वर्ष ०८०-८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) सभामा छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्दैछ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले सांसद सदस्यलाई स्वागत गर्दै राष्ट्रपतिबाट संसद्को अधिवेशन आह्वानसम्बन्धी पत्र र पछिल्लोपटक नयाँ मन्त्री नियुक्तसम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची छ। बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन तथा कानून, न्याय तथा संसदीय मामिलामन्त्रीले मुलुकी संहितासम्बन्धी केही नेपाललाई संशोधन गर्ने अध्यादेश, २०८० पेश गर्ने विषय पनि सम्भावित कार्यसूचीमा छ।