काठमाडौं- सिरहाको मिर्चैया नगरपालिका प्रमुख श्रवण कुमार यादवले लामो समयदेखि बसोबास गर्दै आएका स्थानीयवासीकाे घरमा डोजर चलाएपछि स्थानीय आन्दोलित भएका छन्।
स्थानीय व्यापारी र वडाबासीहरुले वर्षौदेखि बसोबास रहँदै आएको मिर्चैयाको २ (क) को ५६ नम्बर र २ (ख) को ६० नम्बर जग्गामा बनेका पक्की घरहरु र भवनमा डोजर चलाउन मेयर यादवले आदेश दिएका थिए।
पचासौं वर्षदेखि बस्दै आएको ठाउँमा डोजर लगाएर उठिबास बनाएपछि त्यहाँका स्थानीयहरु आन्दोलनमा उत्रिएका हुन्।
पीडितहरुले आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उचित क्षतिपूर्ति र मेयर यादवलाई कारबाहीको माग गरेका छन्।
पत्रकार सम्मेलनमा बोल्दै पीडित रञ्जित पासवानले मेयर यादवले भ्रष्टाचार गरेर आफ्ना नातागोताको नाममा अकुत सम्पत्ति जम्मा गरेको र उनको भ्रष्टाचार विद्यालयसँग पनि जोडिएको पासवानको आरोप लगाए।
‘नगरप्रमुखले जुन ज्यादती गरेका छन्, कानुनबमोजिम सजाय होस् भनेर म जोडदार माग गर्छु। उहाँको र उहाँको नाताको नातागोताको नाममा रहेको सम्पत्ति छानविनको माग गर्दछु। उहाँले विद्यालयमा पनि भ्रष्टाचार गर्नुभएको छ,’ उनले भने।
त्यसैगरी नेपाली कांग्रेसका नेता रामेश्वर यादवले पनि पीडितहरुको आन्दोलनमा समर्थन जनाएका छन् ।
‘मिर्चैयामा मेयरको जुन ज्यादती चल्दैछ, त्यहाँको मेयरले जनताप्रति अन्यायपूर्ण काम गरेका छन् । त्यसको विरुद्धमा हामी सर्वपक्षीय संघर्ष समितिद्वारा दुई महिनादेखि त्यहाँका जनताले पक्षमा हामी लडिरहेको अवस्था छ,’ उनले भने ।
त्यसैगरी, नेकपा (माओवादी केन्द्र) का नेता काशिन्दर महतोले मेयर यादवले गैरकानुनी रूपमा नीजि सम्पत्ति भत्काएको आरोप लगाए।
‘मिर्चैया नगरपालिकाका नगरप्रमुखले गैरकानुनी रुपमा नीजि सम्पत्ति, नीजि घरलाई भत्काउन लगाएका छन्। त्यसको विरुद्धमा आन्दोलन भइरहेको छ । त्यसमा संलग्न जतिपनि निकायहरु छन्, अथवा व्यक्तिहरु रहेका छन्, चाहे त्यो नगरप्रमुख होस् वा नापीको प्रमुख होस्, सबैलाई कारबाहीको दायरामा ल्याईयोस्। पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्यो,’ उनले भने।
यस्तै, नेपाली कांग्रेसका नेता धनेश्वर यादवले मिर्चैयामा मिर्चैया नगरपालिका चरम भ्रष्टाचारमा डुबेको बताए ।
‘कुनै पनि व्यक्ति राजनीतिमा लागेपछि उसको सम्पत्ति पचासौं गुणा बढ्नुको कारण के हो? यो मिर्चैयाको मात्रै समस्या होइन, देशकै समस्या हो। मेयर हुनुभन्दा पहिले उसको सम्पत्ति कति थियो र मेयर भएपछि चार पाँच वर्षको अवधिमा सम्पत्ति पचासौं गुणा बढि कसरी हुन्छ?’ उनले भने।
नेकपा (एमाले) का नेता प्रदीप महासेठले मेयर यादवले २०७५ सालको मन्त्रिपरिषद्को निर्णयविपरित काम गरेको बताए।
‘२०७५ सालको मन्त्रिपरिषद्को निर्णयबाट गाउँ ब्लकको जग्गामा लालपुर्जा दिने निर्णय गरेको छ। त्यो निर्णयलाई उल्लङ्घन गरी अहिले घर भत्काइएको छ। गाउँ ब्लकभित्रका साथीहरुले पुनरावेदनबाट परमादेश ल्याएर चैत्र २१ गते मेलमिलापको लागि बोलाउनु भएको थियो। त्यो अदालतको आदेश उल्लङ्घन गरी गुण्डाहरु ल्याएर घर भत्काइयो,’ उनले भने।
अहिले मेयरविरुद्ध अख्तियारमा र सम्पत्ति सुद्धीकरणमा मुद्दा हालेपनि त्यसको सुनुवाई नभएको उनले बताए ।