महेन्द्रनगर- दार्चुलाको ब्याँस गाउँपालिका–१ छाङरुस्थित भोलुम डाँडामा हिमपहिरोमा परी बेपत्ता भएका ५ मध्ये ३ जनाको शव अक्करे भिरमा अड्किएको अवस्थामा देखिएको छ।
पहिरो गएको स्थानबाट करिब ५ सय मिटर तल ३ जनाको शव भीरमा अड्किएको देखिएको र खोँचमा झार्नेे प्रयास भइरहेको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप धामीले जानकारी दिए।
हिजो दिउसो हिमपहिरो खस्दा ५ जना हराइरहेका थिए। भीरमा देखिएका ३ शव मध्ये एउटा दार्चुलाकै दुँहु गाउँपालिका–४ पोक्सीका १८ वर्षीय प्रविण कुँवरको भएको खुलेको छ। उनी आमासँग यार्सा टिप्न उक्त लेकतर्फ उक्लिएका थिए। ४ महिला र एकजना पुरुष पहिरोपछि बेपत्ता भएका थिए।
भारी वर्षा र हिमपातका कारण छाङरुको गाँगाबगरस्थित सशस्त्र प्रहरीको ५० नं. गुल्म र सीतापुलमा रहेको नेपाल प्रहरीको टोली ढिलोगरी आज त्यहाँ पुगेको छ। एउटा टोली भिरमा माथि चढेको छ। अर्को तल खोँचमा बसेको छ। डोरीको सहायताले शव झिक्ने प्रयास भइरहेको त्यहाँ रहेका एक सशस्त्र प्रहरीले जानकारी दिए।
हिमपहिरोमा बेपत्ता हुने सबै यार्सागुम्बा संकलक हुन। पहिरोले पुरिएका ७ जनाको सुरक्षाकर्मीले हिजै उद्धार गरेर छाङरु ल्याएका थिए। छाङरु गाउँको पूर्व दुई–अढाई घण्टाको पैदल दूरीमा रहेको भोलुम डाँडामा अहिले पनि ५ फीट भन्दा बढी हिउ जमेको छ।
त्यस क्षेत्रमा हिजो भयानक हिम पहिरो गएको थियो। उक्त क्षेत्रमा ४ दिनदेखि निरन्तर हिमपात भइरहेको छ। हिमपहिरोले यार्सा संकलक बसिरहेको टेण्टहरु पुरेको थियो।