काठमाडौं- जल तथा मौसम विज्ञान विभागले आज हल्कादेखि मध्यम वर्षाका कारण खासगरी ६ वटा क्षेत्र प्रभावित हुने अलर्ट जारी गरेको छ।
अहिले बिहान ६ बजे मौसम अलर्ट जारी गर्दै विभागले सडक र हवाई यातायात, कृषि, पर्यटन, खेलकुद क्षेत्र मुख्य रूपमा प्रभावित हुन सक्ने जनाएको छ। विभागका अनुसार आज देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिएको छ। साथै, मेघ गर्जन र चट्याङबाट आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ।
अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदली छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशभर मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिएको विभागले जनाएको छ। यस्तै, मधेश प्रदेशका १-२ स्थानमा हावाहुरीको जोखिम देखिएको छ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ।। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको प्रक्षेपण विभागले गरेको छ।