काठमाडौं- प्रि-मनसुन जारी रहेकाले आगामी २४ घण्टामा पनि चट्याङ र हावाहुरीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
खासगरी, पहाडी इलाकामा मेघ गर्जन र चट्याङको जोखिम रहेको तथा तराई क्षेत्रमा हावाहुरी आउन सक्ने विभागको चेतावनी छ। त्यसबाट हुने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
पश्चिमी र स्थानीय वायु हाल सक्रिय रहेको र ती दुवैबीचको घर्षणले चट्याङ र हावाहुरीको जोखिम बढाएको विज्ञको भनाइ छ।
अहिले बिहान देशभरको पहाडमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली छ।
आज दिउँसो पहाडी इलाकामा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदलीदेखि मौसम सफा रहने छ। पहाडका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना छ।
आज राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रमा आंशिक बदलीदेखि मौसम सफा रहने छ। गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडका १-२ स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना छ।