अर्थमन्त्री डा. प्रकाशशरण महत र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच भेटवार्ता भएको छ।
भेटका क्रममा टोखा–छहरे सुरुङमार्ग छिट्टै निर्माण चरणमा प्रवेश गर्ने विषयमा छलफल भएको अर्थमन्त्री महतको सचिवालयले जनाएको छ।
त्यस्तै मुस्ताङ, रसुवागढीलगायत अन्य पहाडी भू–भागसमेतमा सुरुङ मार्ग बनाउने विषयमा पनि छलफल भएको जनाइएको छ।
चीनबाट नेपाल भित्रिने पर्यटकको सङ्ख्या बढाउने विषयमा पनि छलफल भएको सचिवालयले प्रेस नोटमार्फत जानकारी दिएको छ।
“अर्थमन्त्री डा महतले चीनबाट प्राप्त हुने सहयोग नेपालको पूर्वाधार विकासकै क्षेत्रमा लगानी गरेर प्रतिस्पर्धी क्षमता बढाउने कुरा बताउनुभयो”, भेटबारे उल्लेख गर्दै भनिएको छ, “चिनियाँ राजदूत सोङले नेपालको पूर्वाधारका विकासका लागि करिब रू ८० अर्ब उपलब्ध गराउन सक्ने जानकारी गराउनुभएको छ।”
चीन सरकारले उपलब्ध गराउने सहयोग रकम पूर्वाधार क्षेत्रमै प्रयोग हुने विश्वास पनि राजदूत सोङले व्यक्त गरेका छन्।