कास्की- गायक प्रकाश सपुतको गीत ‘सकम्बरी’ले साता दिनमै युट्युबमा करोड ‘भ्युज’ पाएको छ। सपुतको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक यो गीतलाई बिहीबार दिउँसोसम्ममा एक करोडभन्दा बढी पटक हेरिएको हो।
‘सकम्बरी’ गत शुक्रबारदेखि नै युट्युब ट्रेन्डिङको पहिलो स्थानमा छ। युट्युबमा गीत सुनेर, हेरेर १८ हजार बढीले प्रतिक्रिया दिएका छन् भने झन्डै चार लाखले ‘लाइक’ गरेका छन्। कलाकार बन्ने सपना बोकेर शहर छिरेकी ग्रामीण युवतीको कथा गीतमा छ। गीतको म्युजिक भिडियोमा महिला पात्रको चरित्रलाई लिएर गरिएको प्रस्तुतिलाई कतिपयले आलोचना गरेका छन्।
गीतको सिर्जना र कला पक्षमाथि तर्क-बितर्क भइरहेको छ। गीतको बचाउ र विरोध जारी छ। विवाद र चर्चाबीच युट्युबमा भने गीतले आक्रामक भ्युज बटुलिरहेको छ। युट्युबमा छिटो करोड भ्युज पाउनेमध्येमा सकम्बरी परेको छ।
गीतको रचना र संगीत पनि गायक सपुत आफैंले गरेका हुन्। सपुतलाई गायिका व्रता गन्धर्वले स्वरमा साथ दिएकी छन्। गीतको म्युजिक भिडियोमा कलाकार सुनिल थापा, कुशुम शर्मालगायतले अभिनय गरेका छन्।
गायक तथा सर्जक सपुतका यसअघि सार्वजनिक ‘पिर’, ‘गलबन्दी’, ‘बोलमाया’लगायत गीत सर्वाधिक चर्चित छन्। बागलुङको धम्जामा जन्मेका सपुत चलचित्र ‘परदेशी–२’ मा नायकका रूपमा समेत देखा पर्दैछन्।
उक्त चलचित्र आगामी दशैंमा प्रदर्शनमा आउँदैछ। सिर्जनामा सामाजिक विषयवस्तुको उठान गर्ने सपुतले वर्ष २०८० लाई ‘जातीय विभेदविरुद्धको वर्ष’ बनाउने घोषणा यसअघि नै गरेका छन्।