महोत्तरी – महोत्तरीका बजारमा सामान किनमेल गर्नेहरुको चहलपहल ह्वात्तै बढेको छ ।
दिउँसभरि टन्टलापुर घामले दैनिक जीवनका कतिपय काम थाती राखेका सर्वसाधारण पनि किनमेलको कामले बजार पुग्ने बढेपछि यहाँ चहलपहल बढेको हो ।
जिल्लाका बर्दिबास, गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्रका बजार मातातीर्थ औँसी पर्वले अहिलेदेखि नै भरिभराउ देखिएका हुन् । वैशाख औँसीका दिन मनाइने हिन्दू परम्पराको यो पर्व यसपालि भोलि बिहीबार परेको छ ।
हिन्दू परम्परामा पनि खासमा पर्वते समुदाय मातातीर्थ औँसी पर्वका लागि सामग्री किन्न बजार पुग्दैछन् । अहिलेको चहलपहमा महिलाको विशेष भीड देखिएका छन् । बर्दिबास नगरपालिकाका बर्दिबासचोक, हाथीलेट, खयरमारा र पथलैयाबजारमा आमाको मुख हेर्ने पर्वका लागि सामान किन्ने ग्राहक एकाबिहानदेखि बढेका छन् ।
त्यसैगरी, गौशालानगरपालिकाको गौशाला र कान्तिबजार, औरही नगरपालिकाको औरहीबजार र भङ्गाहा नगरपालिकाको सीतापुरबजारका कपडा पसल र किराना पसल ग्राहकले भरिभराउ देखिएका छन् ।
पर्वविशेषले कपडा र नरिवल, मिश्री, चकलेटसहितका किराना वस्तुको व्यापार बढेको बर्दिबास उद्योग वाणिज्य सङ्घका महासचिव उत्तम श्रेष्ठ बताउँछन् । पर्वले गर्दा विवाहित छोरीचेली आमा भेट्न माइत जाने चलनले आजैदेखि सार्वजनिक यातायातका साधन बस, टेम्पु, अटो, जिप र सफारीजस्ता साधन पनि यात्रुले खचाखच देखिएका छन् ।
पसलहरुमा भीड देखिए पनि यस पर्वमा विगतको जस्तो कारोबार भने नभएको व्यापारीको भनाइ छ ।
वैशाख औँसीका दिन आमाको मुख हेरेर मिष्टान्न परिकार खुवाउने र नयाँ वस्त्र परिधान पहि¥याउने पहाडी हिन्दू परम्परा छ । पर्वमा
आफ्नै जन्म दिने आमा, सासूआमा, मितआमा र आमाको नाता लगाइएका नारीलाई पूज्य मानेर दर्शन गर्दै दीर्घजीवनको कामना गरिन्छ । निधन भइसकेका आमालाई यस पर्वका दिन तर्पण दिने हिन्दू परम्परा छ ।
मधेसको मिथिला क्षेत्रमा प्रचलनमा रहेको मैथिल पञ्चाङ्गमा पनि वैशाख औँसीका दिनलाई मातातीर्थ औँसी उल्लेख गरिए पनि पाहाडी परम्पराको जस्तो आमा भेट्न जाने परम्परा भने छैन । तर दिवङ्गत मातृहरुको सम्झना गरेर तर्पण गर्ने कर्मकाण्डी परम्परा भने रहेको बर्दिबास–२ का बासिन्दा मैथिल कर्मकाण्डका ज्ञाता पण्डित महेशकुमार झा बताउँछन् ।