काठमाडौं–आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति दिएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा राष्ट्रपति पौडेलले सेना परिचालन गर्न स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘प्रधानमन्त्रीज्यूको पत्रको आधारमा वैशाख १० गते हुने उपनिर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा २ बमोजिम स्वीकृति प्रदान गर्नु भएको छ।’
आगामी वैशाख १० गते बारा–२ , तनहुँ–१ र चितवन–२ मा उपनिर्वाचन हुँदैछ ।
गत मंसिर ४ को चुनावमा तनहुँ–१ बाट तत्कालीन कांग्रेस नेता रामचन्द्र पौडेल, चितवन– २ बाट रास्वपा सभापति रवि लामिछाने र बारा– २ बाट तत्कालीन जसपा नेता रामसहायप्रसाद यादव प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।
पौडेल गत फागुन २५ मा राष्ट्रपति र यादव चैत ३ मा उपराष्ट्रपति बनेका थिए भने लामिछानेको नागरिकता मुद्दामा सर्वोच्चले उनको पद बदर गरिएको थियो ।