डुम्रे –राष्ट्रियता, मानवता र विश्वबन्धुत्वको विकासका लागि सनातन धर्म, संस्कार र आर्य संस्कृतिको संरक्षण, संवर्द्धन तथा संस्कृत शिक्षाको आवश्यकतालाई मध्यनजर गरी संस्कृत ज्ञानविज्ञानको प्रचारप्रसार गर्ने उद्देश्यले तनहुँको देवघाटधाममा गुरुकुल सञ्चालित छन् ।
वटुकलाई सनातन धर्म, संस्कार र संस्कृतिका बारेमा ज्ञान दिने उद्देश्यले यहाँ सातवटा गुरुकुल सञ्चालित छन् । यहाँका सबै गुरुकुल दाताको सहयोग र मुठ्ठीदानको भरमा छन् । देवघाटधाममा नानीका लागि तीन र बाबुका लागि चार गुरुकुल छन् । यहाँ तनहुँ, चितवन र नवलपुरका बटुक अध्ययनरत छन् ।
तनहुँमा वटुकका लागि महेश सन्यास आश्रमद्वारा सञ्चालित मेहश संस्कृत गुरुकुल, गलेश्वर आश्रमले सञ्चालन गरेको वेदवेदाङ्ग संस्कृत गुरुकुल, हरिहर आश्रमले सञ्चालन गरेको परमानन्द संस्कृत गुरुकुल र माताजीले सञ्चालन गरेको माँ कल्याणी गुरुकुल छन् ।
गुरुकुलमा करिब सात सय वटुक अध्ययनरत रहेको महेश सन्यास आश्रमका व्यवस्थापक सन्तोष गिरीले जानकारी दिए । उनका अनुसार प्रत्येक गुरुकुलमा करिब दुई सय २५ देखि ७५ सम्म वटुक अध्ययनरत छन् । “नानीका लागि सञ्चालित गुरुकुलमा करिब ५० बटुक छन्, नानीहरूको गुरुकुलमा कक्षा ८ सम्म अध्ययन हुन्छ, कक्षा वृद्धि गर्दै लैजाने गरी सञ्चालन गरिएको हो”,उनले भने ।
वेदवेदाङ्गमा यसअघि कक्षा १० सम्म अध्ययन हुने गरेकामा अहिले शास्त्रीसम्मको अध्यापन सुरु गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त गरी परीक्षामा सहभागी गराउँदै आएको व्यवस्थापक गिरीले बताए ।
गुरुकुल नियमित सञ्चालन र भौतिक विकास गरी दुई पाटोमा विभाजन गरी व्यवस्थापन गरिएको छ । नियमित सञ्चालनतर्फ गुरु र कर्मचारीलाई तलब, वटुकलाई खान र शिक्षाका लागि खर्च छुट्टाइन्छ ।
शैक्षिकदातासँग वार्षिकरूपमा प्रतिवटुकलाई लाग्ने रू १२ हजार वार्षिक तिथि, जन्मदिनको अवसरलगायतमा सहयोग गर्न आग्रह गर्ने गरिएको उहाँले बताउनुभयो । विश्वविद्यालयबाट महेश संस्कृत गुरुकुलका लागि तीन जना गुरु प्राध्यापनमा आएको व्यवस्थापक गिरीले जानकारी दिए ।
भौतिक विकासका लागि भूमि दान महाअभियान सञ्चालन गरिएको छ । दानदातासँग सहयोगको अपिल गरेर नै भौतिक विकास अगाडि बढिरहेको गुरुकुलले जनाएको छ । दानदाताको भरमा गुरुकुल सञ्चालन भइरहेको वेदवेदाङ्ग संस्कृत गुरुकुलका प्राचार्य नन्दप्रसादले बताए ।
संस्कृत शिक्षालाई परिस्कृत र संरक्षण गरिरहनका लागि सरकारले रुचि राख्नेमा वटुकलाई सहज हुने गरी अध्ययनको व्यवस्थापन गर्न सकिने गुरुकुलको भनाइ छ ।