काठमाडौं – कुनै बेला ‘थपना’ को टिप्पणी गरिने स्थानीय तहका महिला प्रतिनिधिले पछिल्लो समय निर्धक्कसँग आफ्ना कुरा राख्न थालेका छन् । पदीय दायित्व, अधिकार र कामबारे लगातार जानकारी बढाएर तदनुरुप काम गर्न थालेपछि स्थानीय तहका महिला जनप्रतिनिधि सबल बन्दै गएका हुन् ।
महोत्तरी र धनुषाका ११ स्थानीय तहका महिला जनप्रतिनिधिलाई सामाजिक संस्था ‘माण्डवी’ ले निरन्तर काम, कर्तव्य, अधिकार र दायित्वबारे प्रशिक्षित गर्दै आएको छ । माण्डवीको उक्त प्रयासले महिला जनप्रतिनिधिको सबलीकरणमा सहयोग पुगेको छ ।
“भूमिकाको भन्दा पनि कानुनी प्रक्रिया पूरा गर्न (महिला आरक्षणले) प्रतिनिधिका रूपमा महिला खोजिन्थ्यो । अहिले महिला आफ्नो काम र कर्तव्यमा अब्बल र सक्षम बन्दैछन”, महोत्तरीको औरही–१ का सामाजिक कार्यकर्ता सरोज यादवले भने “अब महिला थपनाका लागि मात्र नभई कामका लागि चुनिन थालेका छन्, उनीहरुले क्षमता विकास गर्दै काम गर्दैछन् ।” विसं २०७४ सालको स्थानीय तह निर्वाचनयता छानिएका महिला प्रतिनिधि माण्डवीको प्रशिक्षण, छलफल र अन्तरक्रियमा सहभागी भएपछि सबल बन्दै गएका यादवको भनाइ थियो ।
पछिल्लो समय महिला प्रतिनिधिले आफ्नो कार्यक्षेत्रमा महिला सशक्तिकरणका लागि आवाज उठाउने, स्थानीय नेतृत्वलाई यसबारे सहमत गराउन काममा लागिपरेका देखिन्छन् । “मेयरसाब’, अई ठामक महिलाके राजनीतिक भागिदारी बढ्व परत, अइके लेल हमरासबके योजना बनाब परत” (यस ठाउँका महिलाको राजनीतिक प्रतिनिधित्व बढाउन पर्छ, त्यसका लागि हामीले नै योजना बनाउन पर्छ) महोत्तरीको भङ्गाहा नगरपालिका–४ बाट निर्वाचित दलित महिला सदस्य जिलेबियादेवी सादा मुसहरले नगरप्रमुख सञ्जीवकुमार साहको ध्यान आकृष्ट गर्दै महिलासम्बद्ध सचेतनाका योजना बनाउन आग्रह गरे । “हमहुँसब (महिला प्रतिनिधि) अही ठामके लेल कही रहल छी, अई बातमें ध्यान दियौ”(हामी महिला प्रतिनिधिले पनि यसै ठाउँका लागि कुरा राखेका हौँ, यी कुरामा ध्यान दिइयोस) सादाले थपे ।
मधेसमा शिक्षा, स्वास्थ्य, सामाजिक काम र आर्थिक अवसर भन्ने थाहै नपाएका, पिछडिएका मुसहर समुदायकी सादामा बढेको आत्मविश्वासले आपूmमा पनि अब महिला प्रतिनिधि सबल बन्दैछन् भन्ने विश्वास बढेको नगरप्रमुख साह बताए । जिलेबियामात्र नभई नगरका सबैजसो महिला प्रतिनिधि बिस्तारै निर्धक्क भएर आफ्ना ठाउँका समस्याबारे कुरा राख्नसक्ने भएकाप्रति उनले खुसी व्यक्त गरे ।
महिला जनप्रतिनिधिलाई जनताका लागि भन्दा पनि कानुनी व्यवस्था पूरा गर्न उभ्याइने गरिएकामा अहिले महिला प्रतिनिधिमा बढेको यो क्षमताले महिला सशक्तिकरणलाई सघाउ पु¥याएको नगरप्रमुख साहको बुझाइ थियो ।
महोत्तरीका पाँच र धनुषाका छ स्थानीय तहका महिला प्रतिनिधि ‘माण्डवी’को निरन्तर प्रयासले खारिँदै महिला सशक्तिकरणका लागि आवाज उठाउन सक्ने भएका छन् ।
“हामीले आफ्नो काम, कर्तव्य र अधिकारबारे जानकारी बढाएका छौँ”, धनुषाको मिथिला नगरपालिकाको नगर कार्यपालिका सदस्य अञ्जु श्रेष्ठले भनिन्, “माण्डवीले हामीलाई विभिन्न चरणमा कानुनी तथा व्यवहारिक कुरा सिकाएको छ ।” महिला भएकै कारण पछाडि पर्नु नपर्ने, जनताका समस्या सङ्कलन गर्न, समस्याबारे छलफल गर्न÷गराउन, योजना छनौट र बजेट निर्माणमा सहभागी हुने प्रक्रियाका बारेमा बुझ्ने भएका छौँ”, उनले भने ।
अवसरका साथै प्रशिक्षण थप बलियो बनाउँछ भन्ने उदाहरण महोत्तरीको बर्दिबास–७ की दलित महिला सदस्य कलीमायाँ विश्वकर्मा छिन् । अति पिछडिएको (डकर्मी, विश्वकर्र्मा) समुदायकी विश्वकर्माको अहिले दोस्रो कार्यकाल हो । यसअघि विसं २०७४ को स्थानीय तहमा उहाँ सोही वडाबाट सदस्य पदमा निर्वाचित भएकी थिइन् । त्यसबेला आफ्नो नाम लिएर परिचय दिन उहाँलाई असहज हुन्थ्यो । अहिले विश्वकर्मा आफ्नो पदीय दायित्व र अधिकारबारे खुलेर स्पष्टसँग बोल्नसक्ने भएकी छन् ।
“विसं २०७४ को निर्वाचनमा गाउँमा सबैले चुनाव लड भने, लहैलहैमा चुनाव लडेँ र जितेँ पनि,” पहिलो कार्यकालको अनुभव सुनाउँदै कलीमायाँले भनिन्, “प्रमुख, उपप्रमुख र वडाअध्यक्षले जहाँजहाँ सही गर्न भन्नुहुन्थ्यो त्यही गरिन्थ्यो ।” अहिले माण्डवीले नगरसभामा कसरी आफ्ना कुरा राख्ने, महिला हकहित तथा अधिकारका बारेमा प्रशिक्षण दिएपछि महिलाका समस्या तथा सामाजिक आवश्यकताका विषयमा प्रस्ताव लैजाने गरेको उनको भनाइ थियो ।
पहिलो कार्यकालको अन्त्यतिर माण्डवीले ‘बुटक्याम्प’ (लक्षसहित सैनिक चालमा हिँड्ने भाव) तालिम दिएपछि जनताबीच कसरी जाने, फेरि कसरी निर्वाचित हुन्छ र जनपक्षीय कामका मुद्दा कसरी उठाउने भन्ने सिकाएकाले त्यसलाई व्यवहारमा लागू गरेपछि आत्मबल बढ्दै गएको विश्वकर्माको अनुभव छ । माण्डवीले महोत्तरीका बर्दिबास, औरही, भङ्गाहा र जलेश्वर नगरपालिका र पिपरा गाउँपालिका तथा धनुषाका जनकपुरधाम उपमहानगरपालिका र मिथिला, क्षीरेश्वर, धनुषाधाम, गणेशमान चारनाथ नगरपालिका, मुखियापट्टि मुसर्नियाँ गाउँपालिकालाई कार्यक्षेत्र बनाई महिला जनप्रतिनिधि सबलीकरण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
माण्डवीले निर्वाचित महिला जनप्रतिनिधिलाई सबल र सशक्त बनाउन ‘शी लिड्स’ कार्यक्रममार्फत प्रशिक्षित गराउँदै आएको छ । महोत्तरीका पाँच स्थानीय तहका एक सय छ महिला सदस्यलाई उक्त कार्यक्रममार्फत चार चरणको तालिम दिइएको संस्थाका तालिम सहजकर्ता पार्वती भट्टराईले जानकारी दिइन् ।
महोत्तरी र धनुषाका महिला जनप्रतिनिधि चार चरणमा समूहकार्य, बैठकको योजना र व्यवस्थापन, स्थानीय तहको विधायिकी कार्य प्रणाली, सञ्जालीकरण, सक्रिय सुनवाइ, सञ्चारमाध्यमसँग सहकार्य, विकास, समुदाय परिचालन, व्यक्तिगत विकासका लक्ष्य र कार्ययोजनासहितका विषयमा प्रशिक्षण दिने गरेका छौँ”, उनले भनिन् । महिला नेतृत्वको परिचय, आत्मविश्वासको अभिवृद्धि, लैङ्गिकता र लैङ्गिक समानतालगायत विषयमा तालिम दिने उहाँले बताउनुभयो । तालिमको प्रथम चरणमा परिचयात्मक विषय समेटिएका हुन्छन् ।