नयाँदिल्ली- महिनावारीको समयमा भारतको केही गाउँमा अहिले पनि महिलाहरूलाई जंगलमा पठाइने गरेको छ।
आन्ध्र प्रदेश र तमिलनाडु राज्यको सीमा क्षेत्रका ती गाउँमा अझै पनि यस्तो कुप्रथा कायम छ। सन् २०१८ मा पनि बीबीसीको एक खोजीमा आन्ध्रप्रदेशको अनन्तपुरम जिल्लास्थित रोला मण्डलको गन्टा गोलहट्टी नामक गाउँबाट यस्तै खबर बाहिरिएको थियो। अहिले पनि बीबीसीले नै उक्त कुप्रथाको खुलासा गरेको हो। त्यस क्षेत्रका गाउँ अझै पनि ढुंगे युगकै चरणमा रहेको खुलासा बीबीसीले गरेको छ।
यो कुप्रथा एउटा गाउँको मात्र होइन। आन्ध्रप्रदेशको चित्तुर जिल्लाको कुप्पम मण्डलका उरिनयनपल्ली, उरिनायनी, कोथथुरु, सल्लारापल्ली तथा गुड्डीपल्ली मण्डलको पालयम र तमिलनाडुको एकलन्थम गाउँमा यस्तो कुप्रथा जीवित छ। ती गाउँहरूको आवादी करिब २ हजार ५०० छ।
आन्ध्रप्रदेशको चित्तुर जिल्लामा कुप्पम मण्डल मुख्यालयबाट उरिनायनपल्ली, उरिनयनी, कोथथुरु र सल्लारापल्ली गाउँ करिब ८ किलोमिटर टाढा पर्छन्। ती गाउँबाट केही किलोमिटर टाढा गुडीपल्ली मण्डलको पलायम गाउँ छ। उरिनयनपल्लीबाट जंगलको बाटो ६ किलोमिटर टाढा तमिलनाडुको कृष्णागिरि जिल्लाको एकलन्थम गाउँ पुग्न सकिन्छ।

ती गाउँमा वाल्मिकी नायडू जातिको बसोबास छ। ती गाउँमा प्राचीन कालदेखि नै महिलाहरूलाई महिनावारीका दौरान जंगल पठाइने गरेको छ। ती गाउँ अझै पनि दुर्गम छन्, विकासको नामो निशाना देखिँदैन, कतै।
जंगलमा पुगेका महिलाहरू पानीको जरुवाको आसपास बस्छन्। त्यहीं खाना पकाउँछन्, खान्छन्। अचार बनाउन या मसला पिस्नु परे जंगलका ढुंगा प्रयोग गर्छन्। उनीहरूले महिनाको चार दिन त्यसरी नै जंगलमा बिताउनु पर्छ। उनीहरूले ती चार दिनमा गाउँमा प्रवेश पाउँदैनन्। उक्त इलाका पहाडी क्षेत्रमा पर्छ। राति उनीहरू ढुंगाको ओढार खोज्दै निदाउँछन्।
जंगली जनावर, सर्प, बिच्छीलगायतले ज्यान लिने जोखिममा उनीहरूले चार दिन बिताउनुपर्छ। वर्षायाममा रुखहरूमा त्रिपाल बनाएर बाँच्छन्। उनीहरूका दूधे बच्चाहरूले पनि त्यसरी नै चार दिन आमाहरूसँग बिताउनुपर्छ।
अझ पहिलो महिनावारी भएका किशोरीहरूले त १० दिनसम्म जंगलमा बिताउनुपर्छ।
त्यस क्षेत्रमा सक्रिय सामाजिक संघसंस्था र तिनका कार्यकर्ताले पनि यो कुप्रथा हटाउन सकेका छैनन्।
यो क्षेत्र यति पिछडिएको छ कि त्यस क्षेत्रका बस्तीका मानिस खाली खुट्टै हिँडडुल गर्छन्। जुत्ता, चप्पल लगाउँदैनन्। कादिरी लक्ष्मी नरसिंह स्वामीको पूजा गर्ने यी गाउँका बासिन्दाहरूका अनुसार महिनावारीका बेला एक महिलाले भगवानलाई छोइदिएका कारण परम्परागत ढोल फुटेको अन्धविश्वासका कारण यो कुप्रथा शुरु भएको हो। अहिले पनि उनीहरूले स्वामीको मूर्तिलाई छुँदैनन्।