साओ पाउलो– ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले चिनियाँ समकक्षी सी जिनपिङसँग व्यापार र युक्रेनको मध्यस्थताबारे छलफल गर्न आगामी साता बेइजिङमा भेटवार्ता गर्ने भएका छन् ।
सतहत्तर वर्षीय वामपन्थी नेता लुलाले आफ्ना अति दक्षिणपन्थी पूर्ववर्ती जायर बोल्सोनारोको शासनकालमा गुमेको केही समयपछि भूराजनीतिक मञ्चमा ब्राजिलको भूमिका पुनः प्राप्त गर्ने आशा गरेका छन् । विश्वको दोस्रो अर्थतन्त्र र एशियाली शक्ति राष्ट्रको मार्च २५ देखि ३० सम्म भ्रमण गर्ने तय भए पनि स्वास्थ्यका कारण भ्रमणलाई स्थगित गर्नुपरेको थियो । राष्ट्रपति लुला मङ्गलबार चीन पुग्नेछ भने शुक्रबार चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
यसैबीच युक्रेनका विदेशमन्त्री माउरो भिएराले लुलाको भ्रमणबारे प्रतिक्रिया दिँदै भनेका छन, “उनीहरूले युक्रेनमा जारी युद्धका बारेमा कुरा गर्नेछन् र लुलाले युक्रेनमाथि रूसको आक्रमण अन्त्यका लागि मध्यस्थता र वार्ताका लागि आफ्नो प्रस्तावलाई अघि बढाउनेछन् । “लुला स्वदेश फर्कने बेलासम्ममा मध्यस्थकर्ता राष्ट्रहरूको एउटा समूह तयार भइसकेको हुनेछ,” भिएराले भने ।
यसअघि दुई पटक ब्राजिलको राष्ट्रपति भइसकेका लुला इरान र अमेरिकाबीचको आणविक वार्ताका क्रममा सन् २०१० मा समाप्त भएको आफ्नो दोस्रो कार्यकालमा जस्तै दक्षिण अमेरिकी महाशक्तिलाई मध्यस्थकर्ताका रुपमा प्रस्तुत गर्न इच्छुक छन् ।
तर गत वर्ष युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनजत्तिकै युद्धका लागि ‘जिम्मेवार’ रहेको दाबी गरेपछि उनको कुटनीतिक भूमिकाको अवसर पछि परेको थियो । उनले युक्रेनको प्रतिरक्षामा सहयोग गर्न पश्चिमा राष्ट्रसँग मिलेर हतियार पठाउन पनि अस्वीकार गरेका छन् ।
बिहीबार लुलाले ‘पुटिनले युक्रेनी भूभाग राख्न सक्दैनन’ भने पनि जेलेन्स्कीले ‘सबै कुरा नचाहने’ पनि बताएको थियो । सन् २०१४ मा मस्कोले कब्जा गरेको क्रिमियामा कीएभले आफ्नो दाबी त्याग्न पनि उनले सुझाव दिएको थियो । गत महिना मस्को भ्रमणका क्रममा सीले पुटिनसँग छलफल गरेको योजना युद्धविराम र संवादका आधारमा चीनले द्वन्द्व समाधानका लागि १२ बँदे प्रस्ताव गरेको छ ।