काठमाडौं- क्रिकेट खेलाडी सन्दीप लामिछानेको मुद्दामा आज अदालतले थप दुई व्यक्तिका बकपत्र लिन आदेश दिएको छ ।
अन्तिम सुनुवाइ गर्नुअघि काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालले पीडितको स्वास्थ्य परीक्षण गरेका प्रसुती गृहका डाक्टर र प्रतिवादीतर्फका बयानकर्तालाई झिकाउन आदेश दिएको हो।
प्रसुती गृहकी डाक्टर मनिषा यादवसहित तीनजनाको टोलीले १२ पेजको स्वास्थ्य परीक्षण प्रतिवेदन बुझाएको थियो । बालिका बलात्कारको मुद्दामा पीडितको स्वास्थ्य चाँच गर्ने डाक्टरको साटो अर्कोलाई पठाएर बकपत्र गराएको भेटिएको छ । यो खुलासा भएपछि न्यायाधीश शंकरराज बरालको इजलासले ‘स्वास्थ्य परीक्षण गर्ने चिकित्सक नै झिकाउनू’ भनी आदेश गरेको छ ।
प्रतिवादीको तर्फबाट बयान गरेका सजाहक आलम र अनिल श्रेष्ठलाई पनि झिकाइएको छ । आजको सुनवाइ यत्तिमै सकिएको छ। अर्को पेशी तोकिएको छैन ।
लामिछानेविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको अभियोग छ । सन्दीपले गत भदौ ५ को राति सिनामंगलस्थित एक होटलमा लगेर पटकपटक बलात्कार गरेको अभियोगपत्रमा उल्लेख छ । नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरीमा जाहेरी परेको थियो ।