काठमाडौं- काबुलमा आफ्नो दूतावासको सुरक्षा गरिरहेका नेपालीहरूलाई बेलायतले तत्काल नेपाल फिर्ता नगराउने भएको छ।
तालिवानले काबुल कब्जा गरेपछि उद्धार गरेर बेलायत पुर्याइएका सुरक्षा गार्डको रूपमा कार्यरत नेपालीहरूलाई नियन्त्रणमा लिएर देश निकाला गर्ने प्रक्रिया अघि बढाएको बेलायतले तत्काल त्यसो नगर्ने बताएको बिबिसीले जनाएको छ।
अफगानिस्तानको काबुलमा रहेको बेलायती दूतावासको सुरक्षामा खटिएका ११ जना नेपाली र २ जना भारतीयलाई तालिवानले अफगानिस्तान कब्जामा लिएपछि सन् २०२१ को अगस्टमा उद्धार गरेर बेलायत लगिएको थियो । बेलायतमा लगेर उनीहरुलाई एउटा होटलमा राखिएको र त्यही होटलमा आफूहरूले काम गर्दै आएको एक नेपालीले बताएका छन् ।
उनीहरूले बेलायतमा स्थायी रूपमा बसोबास गर्नका लागि आवेदन दिएको भए पनि बेलायतले उनीहरूलाई देश निकाला गरेर स्वदेश पठाउने बताएको थियो र त्यसका लागि आवश्यक कागजपत्र समेत तयार भइसकेको बिबिसीले उल्लेख गरेको छ ।
पक्राउ परेकाहरूलाई स्वदेश फिर्ती केन्द्रमा राखिएको छ ।