वासिङ्टन- अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा आफ्नो मानव मिसनका लागि एक महिला र एक अश्वेत अन्तरिक्ष यात्रीलाई पनि सामेल गर्ने भएको छ।
चार अन्तरिक्ष यात्रीमध्ये चन्द्रमाको नजिक पुग्ने अन्य दुईजना श्वेत अन्तरिक्ष यात्री हुनेछन्। नासा ५० वर्षपछि चन्द्रमामा मानवसहितको यान पठाउने तयारीमा छ।
क्रिस्टिना कोच चन्द्रमामा जान तय गरिएको टिममा सामेल हुने पहिलो महिला हुने भएकी छन्। सोही टिममा भिक्टर ग्लोभर नामक अश्वेत अन्तरिक्ष यात्री पनि सहभागी हुने भएका छन्। उनी पनि चन्द्रमा मिसनमा जान पाउने पहिलो अश्वेत व्यक्ति हुने छन्।
सन् २०२४ को अन्त्य अथवा सन् २०२५ को शुरुवातमा रिड भाइजम्यान र जेरेमी ह्यान्सनका साथ उनीहरू एकै क्याप्सुलमा बसेर चन्द्रमाको मार्गमा उड्ने छन्। तथापि, उनीहरू चन्द्रमामा उत्रिने छैनन्। तर, उनीहरूले चन्द्रमामा ल्यान्डिङ गर्ने अन्य व्यक्तिका लागि मार्ग तयार गर्ने छन्।
टेक्ससको ह्युस्टनमा सम्पन्न एक समारोहमा तीन अमेरिकी र एक क्यानाडेली नागरिकको यो टिमलाई सार्वजनिक गरिएको हो। महिला र अश्वेत अन्तरिक्ष यात्रीलाई सहभागी गराएर नासाले विविधताप्रति आफ्नो प्रतिबद्धता देखाएको छ। यसअघि सबै मिसनमा श्वेत अन्तरिक्ष यात्री मात्र सहभागी थिए।