जनकपुर- अनलाइन ठगी कारोबारमा संलग्न २३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
सोमबार साँझ जिल्ला प्रहरी धनुषाको टोलीले उनीहरूलाई जनकपुरधामको पिडारी चोकस्थित बर्गर हाउस नजिकैबाट पक्राउ गरेको हो। पिडारी चोकमै एउटा फ्ल्याट भाडामा लिएर अनलाइन ठगीको कारोबार गर्दै आएको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको डीएसपी वेदप्रसाद गौतमले बताए। उनका अनुसार उनीहरूले विभिन्न एपमार्फत हनिट्र्यापजस्तो धन्दा गर्दै आएका थिए।
पक्राउ पर्नेमा १४ पुरुष र नौ महिला छन्। उनीहरूमाथि थप अनुसन्धान भइरहेको डीएसपी गौतमले बताए। पर्सा पकहा मोहनपुर-५ का सत्यानन्द रामले यो गिरोहको नेतृत्व गर्दै आएका थिए। धनुषाको सबैला घर भई जनकपुरमै रहँदै आएकी सञ्जु साहले अनलाइन ठगीको कारोबार सम्हाल्दै आएको प्रहरीले जनाएको छ।
यो गिरोहमा २० देखि ३० वर्ष उमेर समूहका युवायुवती छन्। आधाभन्दा बढी युवतीले सेवाग्राही खोज्ने, आफ्नो जालमा पार्नका लागि विभिन्न प्रलोभन दिने र पछि तस्बिर आदानप्रदानमार्फत नग्न फोटो भिडियो बनाएर ब्ल्याकमेल गर्दै रकम उठाउँदै आएको प्रहरीले जनाएको छ।