काठमाडौँ – साता कारोबारको लगातार दोस्रो दिन पनि पुँजीबजारमा गिरावट देखिएको छ । सोमबार परिसूचक नेप्से १६.६७ अंकले गिरावट भएको छ । नेप्सेमा ०.८८ प्रतिशतले गिरावट हुँदा १८७१.८८ अंकमा बन्द भएको छ ।
सोमबार नेप्सेमा कुल २ सय १६ सूचीकृत कम्पनीको सेयर कारोबार हुँदा १ सय ७३ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । ३३ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा १० कम्पनीको सेयरमूल्य स्थिर छ ।
बैंकिङ उपसूचक पनि ०.७५ प्रतिशतले घटेको हो । गत सातको अन्तिम दुई दिन १ अर्ब तल झरेको कारोबार रकम आइतबार बढेर १ अर्ब २० करोड नाघेको थियो ।
सोमबार बजारमा कारोबार रकम घटेर पुनः ९२ करोड २ लाख रुपैयाँमा झरेको छ । २७ हजार ४ सय ५४ वटा कारोबारमा २८ लाख २९ हजार ४ सय २६ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको छ ।
कारोबार भएका मध्ये नबिल बैंकको सर्वाधिक ३ करोड ६३ लाख, एनआईसी एशियाको २ करोड ९३ लाख रुपैयाँ र ग्लोबल आईएमई बैंकको २ करोड ५४ लाख कारोबार भएको छ ।
कालिञ्चोक दर्शन कम्पनीको सेयरमूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा महुली लघुवित्तको सेयरमूल्य ३.१६ प्रतिशत र विशाल बजार कम्पनीको सेयरमूल्य २.५० प्रतिशतले बढेको हो ।
एशियन हाइड्रोपावर कम्पनीको सेयरमूल्य ५.०३ प्रतिशतले गिरावट हुँदा मायाखोला हाइड्रोपावरको सेयरमूल्य ४.८१ प्रतिशत र जाल्पा सामुदायिक लघुवित्तको सेयरमूल्य ४.४७ प्रतिशतले गिरावट भएको छ ।
कारोबार भएका शेयर सङ्ख्याको आधारमा ग्लोबल आईएमई बैंक लिमिटेडको सबैभन्दा धेरै एक लाख ४० हजार छ सय ४७ कित्ता शेयर किनबेच भएको छ ।