काठमाडौँ – दीपेन्द्र लामाले आफ्नो पाँचौँ चलचित्र ‘नाङ्गो गाउँ’ को छायाङ्कन आजदेखि सुरू गरेका छन् । एक महिनाको तालिका बनाएको चलचित्रमा दयाहाङ राई, मिरुना मगर, कार्म लगायतको कलाकारले अभिनय गर्दै छन् ।
“कार्यशाला गरेर छायाङ्कनमा निस्किएकाले निर्धारित समयमै सम्पन्न गर्छौँ भन्ने आश छ । आउँदो वर्ष प्रदर्शन गर्ने लक्ष्य छ”, निर्देशक लामाले भने। उहाँ पत्रकारिता छाडेर अहिले लेखन तथा निर्देशनमै व्यस्त हुनुहुन्छ । रङ्ग पत्रकार हुँदै चलचित्रकर्मी बनेका सुशील पौडेलको लेखन रहेको ‘प्रसाद–२’ यही चैत २४ मा प्रदर्शन हुँदैछ ।
“प्रसादपश्चात् यसको दोस्रो शृङ्खला लेखेको हुँ । समय मिल्दा र कार्यशैली मिल्ने टिम हुँदा काम गरिरहेको छु”, लेखक पौडेलले भने । उनी पत्रकारितामा समेत सक्रिय छन् । लेखक पौडेल झैँ पत्रकारितासँगै लेखनमा सक्रिय सामिप्यराज तिमल्सेना अझै केही समय निर्देशनमा आउने सोचमा नरहेको बताए । “अफर त आइरहेको हुन्छ । तर म पत्रकारितासँगै लेखनमै सक्रिय छु”, लेखक तिमल्सेनाले भने, “अहिलेको समय हामीले सिक्ने हो । चलचित्रमा देखिएको परिवर्तनको निष्कर्ष बुझ्नु जरुरी छ ।”
‘फिटकिरी’ बाट लेखन सुरू गरेका पत्रकार यज्ञश निश्चल बस्नेतको निर्देशन रहने चलचित्रको कथा लेखिरहेका छन् । यस्तै अधकट्टी र सुश्री सम्पत्ति निर्देशन गरिसक्नुभएका पत्रकार सुव्रत आचार्य ‘टिभी शो’को तयारी गरिरहेको छ । चलचित्र निर्देशन केही समय थाती राख्दै उनको सक्रियता म्युजिक भिडियो निर्देशनमा बढेको छ ।
‘एउटा साथी’ निर्देशन गरेर निर्माणमा समेत सक्रिय लक्ष्मण सुवेदी ‘सतीदेवी’ को तयारीमा छन् । यसमा उनले शीर्ष भूमिकामा मलिका महतलाई अनुबन्धित गरेको छ ।