काठमाडौँ – कलाकारको छाता सङ्गठन नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्ष पदमा मोहन निरौला विजयी भएका छन् ।
शनिबार सम्पन्न १९औँ साधारणसभामा उनी कुल खसेको चार सय ६८ मतमा दुई सय ३५ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनको निकटतम् प्रतिद्वन्द्वी अभिनेत्री रेजिना उप्रेतीले २ सय नौ मत प्राप्त गरिन् । सङ्घ स्थापना हुँदा नै सदस्यमा रहनुभएका निरौला त्यसपछि कार्यसमितिमा ४ कार्यकाल महासचिव र ३ कार्यकाल उपाध्यक्ष गरिसकेका छन्।
“संस्थापक सदस्य भएकाले मेरो लगाव र दायित्व सङ्घप्रति बढ्दो छ । आगामी दिनमा कलाकारले आफ्नो महसुस गर्ने गरी काम गर्नेछु”, नवनिर्वाचित अध्यक्ष निरौलाले भने, “मैले घोषणा गरेका अधिकांश काम गर्नेछु । कलाकारलाई पेसागत सुरक्षाका लागि बढी काम गर्नेछु ।” उपाध्यक्षमा कविता गेलालले एक सय ५१ मत र शिवहरि नेपाल ‘वैरागी’ ले एक सय ४० मत तथा महासचिवमा सविन श्रेष्ठले एक सय १२ मत प्राप्त गरेर विजयी भए।
यस्तै सचिवमा रामेश्वर बुर्लाकोटीले दुई सय २३ मत र कोषाध्यक्षमा सुनिल कटुवालले दुई सय ६० मत प्राप्त गर्दै विजयी हुँदा सहकोषाध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भएका छन् । सदस्यमा शीतल केसी सर्वाधिक तीन सय दुई मत ल्याएर विजयी भए ।