काठमाडौँ – ‘छ भनौँ कि छैन भर्नौ’, ‘यो वनमा छैन क्यारे न्याउली कराउदिन’, ‘ए कान्छी’, ‘ए माया कहाँ छौँ कहाँ’, ‘झन झन बढ्यो याद तिम्रो’, ‘आफ्नो मान्छे’ लगायतका गीतमार्फत स्थापित गायक सचिन रौनियारले गायनसँगै आफ्नो अभिनय रहेको साङ्गीतिक चलचित्र ‘मरिहत्ते’ सार्वजनिक गरेका छन् ।
काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरिएको ‘मरिहत्ते’ मा उनीसँगै अभिनेत्री नीता ढुङ्गानाको अभिनय रहेको छ । “गीत तयार भएपछि बनाइएको कथामा निर्देशकले प्रस्ताव गरेपछि अभिनय गरेको हुँ”, गायक रौनियारले भने, “डिजिटल समयमा गायनलाई निरन्तरता दिँदैछु, सुहाउँदो भूमिका आएमा भिडियोमा देखिने छु ।”
उनले बाह्र वर्षको अन्तरालमा ‘ए मान्छे’ बोलको गीत तयार गरेएको थियो । त्यसपछि उनले साङ्गीतिक क्षेत्रलाई निरन्तरता दिई रहेका छन् । अभिनेत्री ढुङ्गानाले आफूले निर्वाह गरेको भूमिकाले गृहणीको दिनचर्या प्रस्ट्याएको जानकारी दिए ।
“उपचारको अभावले निम्त्याउने समस्यालाई देखाएका छौँ, यसले मनोरञ्जनसँगै पारिवारिक महत्व र सामाजिक दायित्वलाई समेत समेटेको छ”, अभिनेत्री ढुङ्गानाले भनिन्। गीतमा शब्द र सङ्गीत सन्तोष सुनारको रहेको छ ।
“गीत तयार गर्न झन्डै दुई महिना लाग्यो, सङ्गीत तयार भएपछि सुहाउँदो आवाज खोजेर अडियो तयार गरिएको हो”, सङ्गीतकार सुनारले भने। निकेश खड्काद्वारा निर्देशित भिडियोमा आर्थिक अवस्था कमजोर रहेको दम्पतीको कथा देखाइएको छ ।
बच्चालाई जीवनको अमूल्य सपना बनाएका दम्पतीले स्वास्थ्य समस्या, सामाजिक सङ्घर्ष र जीविकोपार्जनलाई कथामा समेटिएको छ । भिडियोमा हरि हुमागाईंले छायाङ्कन र विकास धमलाले सम्पादन गरेको छ ।