काठमाडौँ – चलचित्र कलाकार सङ्घको कार्यसमिति चुनावमा अध्यक्ष पदमा उम्मेदवारी दिएका कलाकार मोहन निरौलाले प्यानल घोषणा गरेका छन् ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले एजेण्डासहित प्यानलबाट उम्मेदवारी दिनेहरुको नाम पनि सार्वजनिक गरेका हुन् । कलाकार सङ्घका वर्तमान उपाध्यक्ष तथा प्रवक्तासमेत रहेका कलाकार निरौला विगत ४४ वर्षदेखि नेपाली कलाकारिता क्षेत्रमा सक्रिय छन् ।
टेलिसिरियल देवीहरू, जीवन चक्र, भावना, राप तथा चलचित्र जन्मभूमि, सन्तान, फेरि भेटौँला र आफ्नै निमार्णमा चलचित्र पुकार लगायत करिब ६ दर्जन चलचित्रमा निरौलाले अभिनय गरिसकेका छन् ।
उनी भन्छन्, “कलाकार सङ्घको अध्यक्ष पदमा मेरो उम्मेदवारीको मूल उद्देश्य कलाकारको मानसम्मान र हकहितको विषयमा काम गर्नु नै हो ।” कतिपय कलाकारहरू आर्थिक रूपमा विपन्न छन्, कलाकारका बिमाका विषय, कलाकार सङ्घको भवन तथा कार्यालय व्यवस्थापन, अन्तर्राष्ट्रिय विज्ञद्वारा प्रशिक्षण दिने व्यवस्था मिलाउने, कलाकारहरूलाई मिडिया मैत्री बनाउने, लैङ्गिक हिंसाको अन्त्य गर्ने तथा सदस्यतासहित सामाजिक सुरक्षा, वृत्तिविकासलाई निरौलाले आफ्नो एजेण्डा बनाए । “संस्थागत सुरक्षा र पेसागत मान सम्मानसँगसँगै कला क्षेत्रलाई पनि समृद्ध बनाउँछु भन्ने मेरो विश्वास छ,” उनले बताए ।
यस्तै, सदस्यहरूमा उद्धवप्रसाद भट्टराई, गोपाल ढकाल, शीतल केसी, पवन केसी, रोशन श्रेष्ठ, पुण्य प्रसाद पाण्डे प्रेम, पुकार भट्टराई, नम्रता खरेल, रामशरण जङ्गम, बबिता ढकाल, सुनिलकुमार पुरी, गोपीलाल तामाङ, निर्मल स्याङ्तान बुद्धिमान र समीर लामा रहेका छन् ।