काठमाडौँ – चलचित्र कलाकार संघको अध्यक्ष पदकी उम्मेदवार रेजिना उप्रेतीले आफ्नो प्यानल सार्वजनिक गरेकी छन् ।
रेजिनाले बुधबार पत्रकार भेटघाट कार्यक्रममा ११ बुँदे घोषणा पत्रसहित प्यानल सार्वजनिक गरेकी हुन् । कलाकारको हकहितका लागि म होइन, हामी भनेर काम गर्नका लागि आफू कलाकारको संघको अध्यक्ष उम्मेदवार बनेको रेजिनाले बताइन् ।
उनले भनिन् ‘अग्रजलाई सम्मान, समकालिनलाई साथ र नयाँ पुष्तालाई हौसला र माया दिँदै कलाकार संघमा अगाडि बढ्नेछु ।’ संघको महाधिवेशन तथा निर्वाचन आगामी चैत ४ गते आयोजना हुँदैन । संघको अध्यक्षमा रेजिना सहित मोहन निरौला पनि उम्मेदवार बन्दैछन् ।
उप्रेतीको प्यानलमा उपाध्यक्षमा शिबहरी नेपाल बैरागी, सरिता गिरी, महासचिवमा पनाह अधिकारी, सचिवमा जीवन थापा, कोषाध्यक्षमा बिनोद कुमार भट्टराई सदस्यमा रञ्जना खड्का खुस्बु, खिन्न भण्डारी भोला, निर्मल स्याङताङ, लक्ष्मण चौलागाई, इश्वर बल्लभ उप्रेती, दिल ब दोङ, रामकुमार कार्की, राजेश गोसाई, नितु कोइराला, भिमसेन बजगाई र दिनेश अवाल रहेका छन् ।
घोषणा कार्यक्रममा वरिष्ठ कलाकार मदनदाश श्रेष्ठ, वरिष्ठ निर्देशक नारायण पुरी, निर्देशक राजेन्द्र खड्गी, अभिनेता रमेश उप्रेती लगायत थुप्रै कलाकर्मीको उपस्थिति रहेको थियो ।