काठमाडौँ – आज देखि रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन–२’ को प्रसारण हुने भएको छ । कार्यक्रम हिमालय टेलिभिजनबाट शुक्रबार र शनिबार राति ८ बजेदेखि प्रसारण हुनेछ ।
निर्माण युनिटले बिहिबार बानेश्वरस्थित वान सिनेमाज् हलमा शोको पहिलो एपिसोड प्रिमियर गर्दै प्रचारको बिषयमा जानकारी दिएको हो । शोका निर्देशक लक्ष्मण पौडेलले अघिल्लो भन्दा यो सिजन अझै राम्रो बनाउने प्रयास गरिएको बताए ।
शोका कोच प्रमोद खरेल र प्रस्तोता सुशिल नेपाल समेत प्रिमिएरमा सहभागी थिए । यो सिजनमा सुशान्त केसी कोचको रुपमा भित्रिएका छन् । उनी भित्रिएसँगै प्रमोद, सुशान्त, प्रविशा अधिकारी र मिलन नेवार गरेर शोमा ४ जना कोच छन् ।
पहिलो एपिसोडदेखि ‘ब्लाइन्ड अडिसन’ सम्मका एपिसोड प्रसारण हुने निर्देशक पौडेले बताए । डिजिटल अडिसनमा सहभागी भएका हजारौं आवेदकबाट छानिएका ६५ जना प्रतिभाले ब्लाइन्ड अडिसनमा कोचको सामना गर्नेछन् । हरेक कोचको टिममा छानिएका १२ जना प्रतिभाले ब्याटल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् ।