कायरो- इजिप्टको गिजास्थित पिरामिडभित्र रहस्यमय सुरुङ फेला परेको छ।
गिजाका पिरामिडहरू आफैंमा रहस्यमय मानिन्छन्। त्यसभित्र पनि फेला परेको सुरुङले यी पिरामिडलाई थप रहस्यमय बनाएका छन्।
पछिल्लो उत्खननमा पिरामिडभित्र रहस्यमय सुरुङ पत्ता लागेको हो। इजिप्ट सरकारले यस प्राचीन स्थलमा पत्रकार सम्मेलन गर्दै रहस्यमय सुरुङ फेला परेको पुष्टि गरेको छ।
उक्त सुरुङ नौ मिटर लम्बाइ र २.१ मिटर चौडा छ। उक्त सुरुङी कोरिडोर यस्तो भित्तामा पुगेर टुंगिन्छ, जहाँ ओभरल्यापिङ पत्थर छ। पुरातत्त्वविदहरूको ठम्याइमा यो नयाँ खोजले त्यस च्याम्बरसम्म पुर्याउने छ, जहाँ राजा खुफूको शव समाधिस्थ गरिएको थियो। त्यसलाई मेन बरियल च्याम्बर भनिन्छ।
स्क्यानपिरामिड नाम दिइएको अन्तर्राष्ट्रिय विज्ञान परियोजनाअन्तर्गत यो पछिल्लो उत्खनन गरिएको हो। उक्त अनुसन्धान टोलीमा जापान, क्यानाडा, फ्रान्स र इजिप्टका विश्वविद्यालयका विशेषज्ञ सहभागी छन्।
यस अनुसन्धानमा पिरामिडभित्र विभिन्न प्रकारका क्याभिटी पाइएको छ, जसले प्रष्ट्याएका छन्- पिरामिडभित्र पत्ता लगाउन बाँकी धेरै चिज बाँकी छन्। पिरामिडको थप रहस्य खोल्दै जान लेजर र सिटी स्क्यान प्रविधिको प्रयोग भइरहेको छ।
गिजाका यी पिरामिड ४५ सय वर्षअघि निर्माण भएका हुन्। संसारभरका मानिसले यी पिरामिडलाई रहस्यमय मान्छन्। र, जीवनमा एकपटक पुग्नैपर्ने स्थलका रूपमा यी पिरामिड प्रख्यात छन्।
यी पिरामिडभित्र भेटिएका सुरुङले भविष्यमा यिनको थप रहस्य उजागर गर्न सकिने विश्वासमा पुरातत्त्वविदहरू देखिएका छन्।