काठमाडौँ – आगामी चैत १० गतेदेखि नाटक ‘एउटा सपनाको अवसान’ मण्डला थिएटरमा मञ्चन हुने भएको छ । अनुप बरालले निर्देशन गर्ने नाटकमा विश्वप्रसिद्ध नाटक ‘डेथ अफ अ सेल्सम्यान’को नेपाली रुपान्तरणमा गरिएको छ ।
नाटकमा दीया मास्के, रोयदीप श्रेष्ठ, दिव्यदेव, विकास जोशी, शेखर चापागाईं र मेनुका प्रधानको शीर्ष भूमिका हुने जनाइएको छ । नाटक एक महिनासम्म मञ्चन गर्ने तयारी छ ।
‘नेपाली समाज र समयका लागि यो नाटक आज निकै सान्दर्भिक भएकाले मञ्चन गर्न लागेका हौं,’ रिहर्सलमा व्यस्त अभिनेत्री मास्केले बताइन् ।
आर्थर मिलरद्वारा लिखित यो वियोगान्त नाटकलाई सन् १९४० को दशकको उत्तराद्र्धतिरको समयमा सेट गरिएको छ ।
आफ्नै भाषा र शैलीमा अनुवाद गरी विभिन्न देशमा, विभिन्न समयमा संसारभर मञ्चन गरिएको छ । यो नाटकमाथि फिल्म पनि बनेको छ ।
निर्देशक बरालले भने, ‘यो नाटकको नेपाली रुपान्तरणले आर्थिक प्रणाली, अमेरिकी सपना र श्रमिक वर्गको अवस्थाजस्ता नेपालको वर्तमान सन्दर्भबारे बहस र छलफल निम्त्याउँछ ।’ नाटकमा देखाइने आत्महत्याको अर्थ त्यसतर्फ प्र्रेरित गर्न नभई भौतिकवादी समाजको यथार्थलाई युवापुस्तामा चित्रण गरेको छ ।