घोराही– महानायक राजेश हमालले स्तरीयताको नाममा विदेशी चलचित्रको नक्कल गर्दा हाम्रो चलचित्र क्षेत्र यता न, उताको हुन पुगेको बताएका छन् । उलने ‘जसले नेपाली चलचित्र क्षेत्रको विकास हुन सक्दैन। विदेशी फिल्मको नक्कल गर्ने परिपार्टी त्याग्नु पर्ने बताए ।
चलचित्र पत्रकार सङ्घ नेपाल दाङ शाखाले घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेपाली चलचित्रमा मौलिक कथावस्तुको अभाव देखिएको बताए । उनले मौलिकतासहित प्रविधिको विकासमा ध्यान दिन सके विश्व बजारमै स्थान पाउने सक्ने चलचित्र नेपालमै बन्न सक्ने बताए ।
उनले विदेशीको नक्कल गरेर चलचित्र क्षेत्रको विकास नहुने भन्दै आफ्नै नेपाली समुदायका सुख, दुःख र जनजीवनसँग सम्बन्धित विषयवस्तुलाई गहन रूपमा उठाउनु आवश्यक रहेको बताए ।
उनले प्रविधिको विकाससँगै चलचित्र क्षेत्रमा लागेका कलाकर्मीलाई चुनौती थपिएको भन्दै समय र प्रविधि अनुसार आफू परिवर्तन हुन सक्नुपर्ने बताए ।
‘हिजोका दिनमा हलमै पुगेर चलचित्र हेर्ने गरिन्थ्यो, प्रविधिको विकासले अहिले हातमा चलचित्र पुगिसक्यो’, उनले भने, ‘यो अवस्थामा चलचित्र क्षेत्रमा पनि परिवर्तन आउनुपर्छ। दर्शकको चाहना अनुसार प्रविधिको विकासलाई आत्मसाथ गरेर फिल्म बनाउनुपर्छ।’
हमालले दर्शकले कथावस्तु, अभिनयसँगै सन्देश खोजेको भन्दै त्यसमा आधारित रहेर चलचित्र बन्नुपर्ने बताएका छन् । कथावस्तुसँगै प्रविधिको विकासमा ध्यान दिन सके राम्रो फिल्म बनाउन सकिने महानायक हमालको भनाइ छ ।