काठमाडौँ – शुक्रबार बेलुकी अस्ट्रेलियामा नेपथ्यले अन्तिम प्रस्तुति गरेका छन् ।
अस्ट्रेलियाली टापु तासमानियामा अन्तिम प्रस्तुतिसँगै यो वर्षको नेपथ्य अस्ट्रेलिया शृङ्खलाबद्ध यात्राको समापन भएको छ ।
Advertisement
अस्ट्रेलियाका अन्य प्रान्तीय राजधानीभन्दा शान्त होबार्ट सहरमा ऐतिहासिक महत्त्वको १ सय ७ वर्ष पुरानो सभागृह ‘ओडियन थिएटर’ दर्शकले भरिभराउ भएका थिए ।
शुक्रबार स्थानीय समयअनुसार बेलुकीको ठीक ९ः०० बजेदेखि कन्सर्ट सुरु भएको थियो । कार्यक्रममा अन्यत्रजस्तै ब्यान्ड स्थापनाकै पहिलो गीत ‘आँगनैभरि हिउँ नै झरे’बाट सुरु गरेका थिए ।
नेपथ्यका मुख्य गायक अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा नीरज गुरुङ, बेस गितारमा सुबिन शाक्य र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।