काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) ले नेपाली समाज रूपान्तरणमा चलचित्र क्षेत्रले खेलेको भूमिका अतुलनीय रहेको बताए । उनले उपराष्ट्रपति भवन लैनचौरमा आयोजित एक विशेष समारोहमा कलाकर्मीलाई सम्मान गरेका छन् ।
उपराष्ट्रपति पुनले नेपाली चलचित्र क्षेत्रमा त्रिमूर्ति भनेर चिनिने नेपालको प्रथम नायिका भुवन थापा चन्द, हास्य साम्राज्ञी वसुन्धरा भुषाल, प्रथम रंगिन चलचित्रकी नायिका चैत्यदेवी सिंहलाई ‘विशिष्ट कला सम्मान’द्वारा सम्मानित गरेको हो ।
समारोहमा उपराष्ट्रपति पुनले प्राचीनकालदेखि गहिरो जरा गाडेर बसेका अन्धविश्वास, कुरीति, विकृति र विभेदहरुलाई उदाङ्गो पारेर अग्रगामी र सभ्यसमाज निर्माणका लागि चलचित्रले महत्वपुर्ण भूमिका खेल्छ, उनले भने, भाषा, संस्कार, संस्कृति, गीत, सङ्गीत, कला, साहित्यको संरक्षण र विकास चलचित्र क्षेत्रको योगदान अतुलनिय रहेको बताए ।
सोही अवसरमा कलाकार निर्देशक लय संगौला, डिजाइनर सुन्दर श्रेष्ठ, कलाकार निर्देशक मोहन निरौलालेसमेत ‘विशिष्ट कला सम्मान’ प्राप्त गरेका छन् ।
ब्राण्ड यु पिक्चर्स प्राली र तारकेश्वर कला प्रतिष्ठानले निर्माण गरेको टेलिश्रृखला ‘अब जे होला होला’ को ५२ औं भागमा पुरा गरेको उपलक्ष्यमा आयोजित कार्यक्रममा ‘विषेश कला सम्मान’ चलचित्र निर्माता संघका अध्यक्ष नवाल खड्का, कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, कलाकार शिवहरी बैरागी, सुवास गजुरेल, निर्देशक शोभित बस्नेत, अभिनेत्री रस्मि भट्ट, किसोर भण्डारी, दमन रुपाखेती, शेखर खनाल, लोक गायक धुर्वराज खड्का, पत्रकार कृष्ण भुषाल, सानुकाजी श्रेष्ठ, कुबेर गिरी, गीता अधिकारी, दीपज्योती थापा, असोककुमार बस्नेत, सुरेन्द्र थापालगायतलाई सम्मान गरिएको थियो ।
ग्लोबल टेलिभिजनमा प्रसारण भइरहेको टेलिचलचित्र ‘अब जे होला होला’का निर्माता निर्देशक कलाकार उत्तम केसी छन् । टेलिश्रृंखलाको सफलताको खुसी सबै माझ बाड्न र कलाका विभिन्न क्षेत्रमा योगदान पुर्याएको व्यक्तिलाई सम्मान गर्न आफूले कार्यक्रम आयोजना गरेको कलाकार निर्देशक उत्तम केसीले बताए ।