काठमाडौँ – मञ्च र दर्शकदीर्घा एकाकार भएको दृश्य र आवाजले सिँगो हलको वातावरण आत्मीय बन्न पुगेको छ । लोकरक ब्याण्ड नेपथ्यको यसवर्ष जारी अष्ट्रेलिया श्रृंखला अन्तर्गत मेलबर्नको कन्सर्ट आत्मीय वातावरणमा सोमबार सम्पन्न भएको छ ।
कन्सर्ट सुरु हुनुभन्दा झण्डै एक घन्टा अगावै नै ‘फोरम’ भरिभराउ भइसकेको थियो । ‘स्टेट थिएटर’का रुपमा समेत चिनिने ‘फोरम’ आफैँमा मेलबर्नको ऐतिहासिकता बोकेको सम्पदा हो । सय वर्षअघि डिजाइन गरिएको यो विशिष्ट हल उतिबेला सिनेमा देखाउनका निम्ति निर्माण गरिएको भएता पनि हाल ‘कन्सर्ट हल’को रुपमा विकास गरिएको हो । यो हल ‘भिक्टोरियन हेरिटेज’ र ‘नेशनल ट्रष्ट अफ अष्ट्रेलिया’ को वर्गीकरणमा पनि पर्न सफल भइसकेको छ ।
ऐतिहासिक महत्वको हलमा सोमबार कन्सर्ट सुरुहुने बित्तिकै नेपथ्यले अघिल्ला प्रस्तुतीहरुभन्दा बेग्लै सिर्जनाबाट प्रस्तुती दिए ।
प्रेम दिवस (भ्यालेन्टाइन्स डे)को पूर्वसन्ध्यामा आयोजित कन्सर्ट भएकाले मेलबर्नको सुरुवात नेपथ्यले ‘मेरो हजुर’ म्यूजिक भिडियोबाट गरेका थिए । त्यसको केहि बेरमै मञ्चमा उपस्थितभएका ब्याण्डका सदस्यहरुले उनीहरुको सबैभन्दा पुरानो गीत ‘आँगनैभरि हिऊनै झरे’ गीतबाट कार्यक्रमको थालनी गरेका थिए । त्यसपछि क्रमशः ‘छेक्यो छेक्यो’, ‘भेँडाको ऊनजस्तो’ र ‘लामपाते सुरती’ले निरन्तरता पाएको थियो ।
कार्यक्रममा नेपाल र अष्ट्रेलियामा बसिरहेका मनहरुलाई जोड्ने हिसाबले सँधैझैँ गायक अमृत गुरुङले आफ्ना अनुभव र निश्कर्षहरु सुनाए । सदाझैँ दर्शकहरुले त्यसमा पनि संगीत सुन्दाकै क्षणजस्तो आनन्द महशुस गरिरहेको प्रतिक्रिया दिए । सँधैझैँ कार्यक्रमले दर्शकहरुको उत्तेजना बढाउने मात्र होइन संवेदनालाई बलियो बनाउने उद्देश्यलाई पनि पछ्याइरह्यो ।
त्यसैले नेपथ्यप्रेमीहरुको अर्को प्रिय गीत ‘जीवन हो घाम छायाँ।।।
सुख दुःख दुवै हुन्छ’ गाइरहँदा दर्शकहरु पनि चिच्याइरहेका थिएः
‘यो जिन्दगानी, यो जिन्दगानी, यो जिन्दगानी’
त्यो गीत बजिरहेको बेला पृष्ठभूमिमा भने नेपालका सडकहरुमा विजोगपूर्ण जीवन बिताइरहेका मानवहरुको करुणामय दृश्य देखाइएको थियो । त्यस्ता सडक आश्रितहरुलाई छाना र खानाको प्रवन्ध गर्दैआएको ‘मानवसेवा आश्रम’सँग मिलेरै नेपथ्यले यो वर्ष आफुलाई ‘मानवताको लागि संगीत’ अभियानमा होमेको छ ।
गायक अमृतले पनि अष्ट्रेलियामा बसोबास गरिरहेका नेपालीहरुलाई थोरै गोजीखर्च बचाएर भए पनि नेपालमा मानवताको निम्ति योगदान गरिदिन अनुरोध गरेका छन् ।
यसरी अघिबढेको कन्सर्ट अन्त्यतिर ‘मै नाचेँ छमछमी’, ‘रेशम’ र ‘तालको पानी’हुँदै अन्तिममा राष्ट्रिय झण्डाको महिमागान गर्दै ‘रातो र चन्द्रसूर्जे’ सुनाएर सम्पन्न भएको थियो ।
दर्शकहरुको घेरामै नेपाली साथीहरुसँगै आएर रमाइरहेका रोमर बोइका पनि देखिन्थे ।
‘भाषा त बुझिनँ,’ उनी भनिरहेका थिए, ‘तर, अष्ट्रेलियामा विभिन्न संस्कृतिका कार्यक्रमहरु हेरेकामध्ये आजको यो नेपाली कन्सर्ट मलाइ सबैभन्दा रमाइलो लाग्यो ।’ ब्याण्डले आफुलाई दर्शकहरुसँग जोड्नका लागि गरेको प्रयास र प्रतिक्रियामा दर्शकहरुमा देखिएको उत्साहले सिंगो वातावरण रमणीय भएको यी फिलिपिनो मूलका तन्नेरीको प्रतिक्रिया थियो ।
कन्सर्ट हेर्नकै निम्ति ब्रिसबेनदेखि मेलबर्नसम्म यात्रा गरेको जोडी सिजल उप्रेती र प्रदिप सिलवालमा देखिने उत्साह पनि उल्लेखनीय थियो । ‘हामीले अस्ति ब्रिसबेनको कन्सर्ट पनि हेरेका थियौं,’ उनीहरु भनिरहेका थिए, ‘नेपथ्यसँगको यस्तो अनुभव फेरि कहिले जुर्ला भनेर यति परसम्म पनि फेरि यात्रा गरेर हेर्न आइपुगेका हौं ।’ आफू र आफ्नो प्रेमी प्रदिपलाई नेपथ्य अझ विशेषगरि अमृत गुरुङ कति मनपर्छ भनेर भनिसाध्य नभएको प्रतिक्रिया पनि सिजलले दिइन् । ‘यो हाम्रोनिम्ति दोश्रो जादुमयी साँझ थियो,’ सिजलले भनिन्, ‘जीवनमै सर्वोत्कृष्ठ क्षण बिताएको महशुस भइरहेको छ ।’
नेपथ्यलाई यसरी मेलबर्नमा प्रस्तुत गर्नपाउनु आफ्नो निम्ति अहोभाग्य भएको आयोजक टोलीका सुमन पराजुलीले उल्लेख गरे । सुमनले थपे, ‘दर्शकहरुबाट जुन किसिमको प्रतिक्रिया पाइयो त्यसले हाम्रो थप हौसला बढेको छ । साथै फोरम जस्तो गरिमामय हलमा पहिलो पटक नेपाली कार्यक्रम आयोजना गर्ने जोग जुरेकोमा हामी संतुस्ट छौ ।’
‘नेपाली कार्यक्रमहरु प्रायः सप्ताहान्तमा मात्र आयोजना हुँदैआएकोमा सोमबारको दिनसमेत यति भब्य रुपमा सम्पन्न हुनुले एउटा नयाँ आयाम कायम भएको छ,’ नेपालयका टोली नेता किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘त्यसमाथि दर्शकको संख्या भन्दा पनि उनीहरुमा देखिएको उत्साह हाम्रो लागि विशेष थियो ।’
कन्सर्टमा सँधैजस्तै ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।
नेपथ्यले यस वर्षको अष्ट्रेलिया श्रृंखला अन्तर्गत यो सातौं कन्सर्ट सम्पन्न गर्दै छन् । उनले अब अन्तिम प्रस्तुतीका लागि अष्ट्रेलियाकै पुछारतर्फको टापु तास्मानियाको होबार्ट यात्रा गर्ने भएका छन्। ‘ओडियन थिएटर’मा फेब्रुअरी १७ तारिख शुक्रबार अन्तिम प्रस्तुती दिएर ब्याण्ड फेरि मेलबर्न हुँदैछ ।