काठमाडौं- बैंकले चर्को ब्याज लिएको विरोधमा आन्दोलनमा उत्रिएका मोरङका उद्योगी व्यवसायीले आन्दोलन स्थगित गरेका छन् ।
नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले वार्तामा बोलाएको भन्दै उनीहरुले आन्दोलन स्थगित गरेका हुन् ।
सोमबार अर्थमन्त्री नियुक्त भएका पौडेलले सोमबार नै उद्योगी व्यावसायीलाई वार्तामा बोलाएका थिए । अर्थमन्त्रीले वार्तामा बोलाएपछि आन्दोलन स्थगित गरेको मोरङ व्यापार संघ का अध्यक्ष नविन रिजालले बताए । सरकारले माग सम्बोधन गर्ने आश देखाएको बताउँदै उनले माग सम्बोधन नभए पुनः सडक आन्दोलनमा फर्किने बताए ।
बैंकको चर्को ब्याजदरका विरुद्ध मोरङका उद्योगी र व्यावसायीले ७ पुसयता नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय विराटनगरको गेट अगाडि धर्ना दिइरहेका छन् । उद्योगीले एकल अंकको ब्याजदर कायम गर्नुपर्ने, स्प्रेड दर र संस्थागत ब्याजदर २–२ प्रतिशत कायम गर्नुपर्नेलगायत माग राखेका छन् ।
अर्थमन्त्रीले वार्तामा बोलाएपछि आफ्ना मागसहित वार्तामा जाने रिजालले बताए । वार्ता टोलीमा सहभागी हुन विराटनगरबाट ६ जनाको टोली जानेछ ।