काठमाडौं– शीतल निवासमा नवनियुक्त प्रधानमन्त्री र मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ ग्रहण सकिने बेला राष्ट्रपति भवन बाहिर प्लेकार्ड देखाउँदै नाराबाजी गरेको अभियोगमा केही युवा पक्राउ परेका छन् । चार जनाको संख्यामा रहेका उनीहरूलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएर महाराजगन्ज चौकीतिर कुदाएको छ ।
Advertisement
उप प्रधानमन्त्रीहरूको शपथग्रहण सकिनै लाग्दा उनीहरूले बाहिर नाराबाजी गरेका थिए । नक्कली नागरिकतामा प्रहरीबाट मुद्दा चलिरहेको व्यक्तिलाई मुद्दा ढिसमिस पार्न गृहमन्त्रीको जिम्मेवारी दिएको भन्दै नारा लगाएका हुन् ।
नेपाली काँग्रेसको भ्रातृ संगठन नेविसंघका कार्यकर्ता भनिएका उनीहरूलाई प्रहरीले तत्काल भ्यानमा राखेर लगेको हो । आज गृहमन्त्रीको शपथग्रहण गरेका रवि लामिछाने माथि अमेरिकी नागरिकता र राहदानीसँगै नेपाली नागरिकता र राहदानी बोकेको आरोप लाग्दै आएको छ ।