काठमाडौं- मकवानपुरको हेटौंडा बजारमा मंसिर २६ मा स्थानीय व्यवसायी दानिल न्यौपानेमाथि चक्कु प्रहार भयो । चक्कु हान्नेहरूको पहिचान भए पनि प्रहरीले अझैसम्म उनीहरुलाई पक्राउ गर्न सकेको छैन ।
हेटौंडा महानगरपालिका–२ स्थित बागमती प्रदेश सरकारको अर्थ मन्त्रालय अगाडि न्यौपानेलाई हेटौँडाका हेमन्त थापा मगर, असिम बतौला, सुवर्ण लामा र रामकुमार रायमाझी (हारा)ले चक्कु हानेका थिए । चक्कु प्रहारबाट न्यौपानेको शरीरको ७ ठाउँमा चोट लागेको छ । अहिले उनको उपचार भइरहेको छ ।
चक्कु हान्नेहरु भागेको र उनको खोजी भइरहेको मकवानपुरका एसपी वामदेव गौतमले जानकारी दिए । उनले भने, ‘आरोपीहरुको खोजी गर्न टिम परिचालन गरिएको छ, पक्राउ परेका छैनन् ।’
न्यौपानेका परिवारले २७ मंसिरमा जिल्ला प्रहरी कार्यालयमा ज्यान मार्ने उद्योग विरुद्धको कसुरमा जाहेरी दिएका थिए । प्रहरीले जाहेरी दर्ता गरे पनि अरोपीहरुलाई पक्राउ गर्न आनाकानी गरेको पीडित परिवारको गुनासो छ ।