काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आज शुक्रबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन्।
प्रचण्ड निवास खुमलटार पुगेका कांग्रेस नेता प्रकाशमान र प्रचण्डबीच केहीबेर समयसामयिक राजनीतिक विषयमा कुराकानी भएको स्रोतले जानकारी दिएको छ।
यही ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमार्फत कांग्रेस मुलुकको पहिलो पार्टी बनेको छ। नयाँ सांसद् आएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले यही १० पुसभित्र नयाँ प्रधानमन्त्रीको आकांक्षिको नाम पेश गर्न आह्वान गरेकी छन्।
सोही बमोजिम सत्ता गठबन्धनमा आवद्ध दुई दल कांग्रेस र माओवादीका शीर्ष नेताहरू छलफलमा ब्यस्त छन्। स्रोतका अनुसार प्रचण्डले पहिलो कार्यकालमै आफूले प्रधानमन्त्री पद पाउनुपर्ने अडान कायमै राखेका छन्।
बिहीबार बेलुका बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, अध्यक्ष प्रचण्ड र माधवकुमार नेपालबीच छलफल भएको थियो। बिहीबारको छलफलमा सत्ता बाँडफाँटबारे छलफल भएको थियो।
छलफलमा प्रचण्डले आलोपालोको सहमतिअनुसार पहिलो २ वर्ष आफूलाई प्रधानमन्त्री बनाउन देउवासँग प्रस्ताव गरेका थिए। उनको सो प्रस्तावमा देउवाले सकारात्मक जवाफ फर्काएको बताइएको छ।