काठमाडौं- सन् २०२२ धेरै कुराका लागि याद गरिनेछ । यो वर्ष विश्वले यस्ता व्यक्तित्व गुमाएको छ, जसको योगदान इतिहासमा सधैँ अमर रहनेछ ।
महारानी एलिजाबेथ द्वितीया
बेलायतको राजतन्त्रको इतिहासमा महारानी एलिजाबेथ द्वितीयको ७० वर्षको शासनकाल सबैभन्दा लामो मानिन्छ ।
उनी २५ वर्षको उमेरमा सन् १९५२ मा राजगद्दीमा आरोहण गरेकी थिइन् । आफ्नो कार्यकालमा इंग्ल्यान्डमा १५ प्रधानमन्त्रीलाई हेरेकी उनले १९४७ मा राजकुमार फिलिपसँग विवाह गरेकी थिइन् ।
उनी फिलिपको सन् २०२१ मा मृत्यु नहुदाँसम्म ७३ वर्ष वैवाहिक सम्बन्धमा रहेकी थिइन् । शाही परिवार र दुई विश्वयुद्धसहित ठूलो रूपमा संसारमा अशान्तिको साक्षी रहेकी महारानीले आफ्नो जीवनमा समर्पित एक स्थिर नेताका रूपमा सेवा गरेकी थिइन् । उनको ९६ वर्षको उमेरमा सेप्टेम्बर ८ मा निधन भयो ।
मिखाइल गोर्बाचेभ
पूर्वसोभियत संघका राष्ट्रपति मिखाइल गोर्बाचेभलाई पश्चिमाहरूले शान्तिको दूतका रूपमा चिन्ने गर्छन् । खासगरी उनले रुस र पश्चिमबीचको ‘फलामको पर्दा’ हटाएर शीतयुद्धको अन्त्य गरेकामा नोबेल शान्ति पुरस्कार जितेका थिए ।
उनले अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनसँग आणविक हतियारको दौडलाई कम गराउन संयुक्त रूपमा काम गरे ।
कम्युनिस्ट देशभित्रका प्रतिबन्धहरू पनि खुकुलो पार्दै उनले ‘ग्लासनोस्ट’ र ‘पेरेस्ट्रोइका’ खुलापन र पुनर्संरचनाका लागि प्रयास गरेका थिए । उनका नीतिहरूले देशमा लोकतन्त्र समर्थक विरोध प्रदर्शनहरू भित्र्यायो, जसले गर्दा सोभियत संघ विघटन भयो ।
उनले अफगानिस्तानबाट सोभियत सेनाहरू फिर्ता लगेका थिए । पूर्वी र पश्चिम जर्मनी छुट्ट्याउने बर्लिन पर्खाल भत्काउन पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
उनको ९१ वर्षको उमेरमा गएको अगस्ट ३० तारिखमा निधन भएको हो । उनको मृत्युको खबर पश्चिमी मिडियाले महत्त्वका साथ छापेका थिए ।
हिलारी नेल्सन
हिलारी नेल्सन एक ऐतिहासिक विश्वविख्यात स्की आरोही थिइन् । उनले विश्वको सबैभन्दा ठूला चुचुराहरू चढी त्यहाँबाट स्की गर्दै तल झरेर आफ्नो करियर बनाएकी थिइन् । अमेरिकाको सियाटलमा जन्मिएकी हिलारी द नर्थ फेस एथलिट टोलीको कप्तान थिइन् ।
भारतको ‘पिक अफ एभिल’ भनेर चिनिने पप्सुराको आरोहण र स्की तथा अलास्काको डेनाली आरोहण र स्की गरेपछि सन् २०१८ मा नेसनल जियोग्राफिकले उनलाई साहसी खेलाडीको सूचीमा राखेको थियो । आठ हजार मिटरमाथिका दुई हिमालको चुचुरोबाट स्की गर्दै अवरोहण गरेको कीर्तिमान पनि उनको नाममा छ । सन् २००५ मा उनले चोयु हिमालको चुचुरोबाट स्की गरेकी थिइन् ।
दुई सन्तानकी आमा उनी २४ घण्टाभित्र सर्वोच्च शिखर सगरमाथा र ल्होत्सेको आरोहण गर्ने पहिलो महिला र आफ्नो पार्टनर जिम मोरिसनसँगै ल्होत्से कुलोइरमा स्की गर्ने पहिलो महिला समेत थिइन् । उनको ४९ वर्षको उमेरमा सेप्टेम्बर २६ मा उत्तरी गोरखाको मनास्लु हिमालमा हिउँपहिरोमा परी निधन भएको हो ।
शिन्जो आबे
जापानको सबैभन्दा लामो समय सेवा गर्ने प्रधानमन्त्री शिन्जो आबेले दोस्रो विश्वयुद्धपछिको शान्तिवादबाट आफ्नो देशको सेनालाई पुनस्र्थापित र अर्थतन्त्रलाई पुनर्जीवित गर्ने काम गरेका थिए । उनले दुवै काममा केही सफलता पाए । तर, आफ्नो लक्ष्य पूर्ण रूपमा हासिल गर्न सकेनन् ।
उनको पालामा जापानको अन्तर्राष्ट्रिय सम्बन्ध सुमधुर बनाएका थिए । सात वर्षमा बेइजिङ भ्रमण गर्ने उनी पहिलो व्यक्ति थिए । जसले सन् २०१८ मा सी चिनफिङसँग भेटवार्ता गरेका थिए ।
उनले तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामालाई पनि आतिथ्य सत्कार गरेका थिए, जसले अमेरिकी राष्ट्रपतिका रूपमा पहिलोपटक हिरोसिमा शान्ति स्मारक पार्कको भ्रमण गरेका थिए । गएको जुलाई ८ मा घरेलु बन्दुकबाट एक व्यक्तिले आबेको हत्या गरे ।
थिच न्हाट हान
विश्वप्रसिद्ध जेन बौद्ध भिक्षु थिच न्हाट हानको ९५ वर्षको उमेरमा गएको जनवरी २१ मा मृत्यु भएको थियो । भियतनामको ह्युमा जन्मिएका हानलाई २५ वर्षको उमेरमा पूर्ण रूपमा भिक्षुका रूपमा नियुक्त गरिएको थियो । उनी जेन धर्म सिकाउन सन् १९६१ मा अमेरिकाका प्रिन्सटन र कोलम्बिया विश्वविद्यालयमा गएका थिए । अमेरिकामा रहँदा भियतनाम सरकारले उनलाई स्वदेश फर्कन प्रतिबन्ध लगाएको थियो ।
उनले दशकौँ निर्वासन जीवन बिताए । हान भियतनाम युद्धको समयमा एक शान्ति कार्यकर्ता थिए । आफ्नो जीवनभर शान्ति र सचेतनाको वकालत गरिरहे । उनले ‘हरेक पाइलामा शान्ति’ र ‘तिमी यहाँ छौ’ जस्ता धेरै पुस्तकहरू लेखेका छन् । उनलाई सन् २०१४ मा हृदयाघात भएको थियो । २०१८ मा आफ्नो गाउँ फर्किएका थिए ।
लता मंगेशकर
भारतकी सबैभन्दा लोकप्रिय पाश्र्वगायिकामध्येकी एक लता मंगेशकरको फेब्रुअरी ६ मा ९२ वर्षको उमेरमा निधन भएको थियो । सात दशक लामो करियरको अवधिमा उनले नेपाली गीत पनि गाएकी थिइन् । उनलाई ‘मेलोडीको रानी’ र ‘भारतीय नाइटिंगेल’ दुवै नामले चिनिन्छ ।
बप्पी लाहिरी
बप्पी लाहिरी हिन्दी संगीत उद्योगको एक प्रसिद्ध गायक, गीतकार तथा संगीतकार थिए । भारतीय संगीत उद्योगमा उनले भित्र्याएको डिस्को संगीत अझै लोकप्रिय छ । ‘बप्पी दा’ भनेर सम्बोधन गरिने उनको ६९ वर्षको उमेरमा फेब्रुअरी १५ मा मुम्बईमा मृत्यु भएको थियो ।