काठमाडौं- सर्वोच्च अदालतले थुनामुक्त गर्न दिएको आदेशसँगै कुख्यात अपराधी चार्ल्स शोभराजलाई अध्यागमन विभागमा बुझाउने तयारी थालिएको छ ।
१९ वर्षदेखि कैद सजाय भोगिरहेका ७८ वर्षीय फ्रान्सेली नागरिक चार्ल्सलाई उनकै मुलुक फ्रान्स फिर्ता पठाउन लागिएको हो। जिल्ला अदालत, भक्तपुरबाट पत्र आएपछि उनलाई अध्यागमनमा बुझाइने कारागार कार्यालय, जगन्नाथदेवलका जेलर ईश्वरीप्रसाद पाण्डेले बताए ।
‘हालसम्म पत्र आएको छैन्, त्यही कुरेर बसेका छौं’, उनले भने,‘पत्र आउनेबित्तिकै प्रक्रिया पुर्याएर अध्यागमनलाई बुझाउँछौं ।’
दुई जनाको हत्या र एकको हत्या प्रयास मुद्दामा अदालतबाट दोषी ठहर भई १९ वर्षदेखि जेलमा रहेका शोभराजलाई सर्वोच्चले ज्येष्ठ नागरिकले पाउने कैद छुट दिएको हो । न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शोभराजलाई तत्काल कैदमुक्त गर्न र आदेश भएको १५ दिनभित्र आफ्नो मुलुक फर्काउन आवश्यक व्यवस्था मिलाउन हिजो आदेश दिएको थियो ।
आदेशमा भनिएको छ, ‘यस अदालतबाट प्रतिपादित सिद्धान्त विपरितको अवस्था देखिएको हुँदा निजलाई निरन्तर कैदमा राखी राख्नु कैदीबन्दीको मानव अधिकार मापदण्ड, संविधान तथा कानूनप्रदत्त अधिकार अनुकूल देखिएन । बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरिदिएको छ । अन्य मुद्दामा थुनामा राख्नुपर्ने नभए निजलाई आजै कैदबाट छाडी दिन वा सो आदेश भएको १५ दिनभित्र आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउनसमेत यो आदेश जारी गरिएको छ ।’