काठमाडौं- नाबालिग किशोरीलाई जबरजस्ती करणीको मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध पुनरावेदनको पेशी सरेको छ।
उच्च अदालत पाटनमा आजका लागि पेशी तोकिए पनि सन्दीप पक्षकै कानुन व्यवसायीले निवेदन दिएर पेशी सारेका हुन्।
जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए।
सर्वोच्च बारको अधिवेशनमा कानुन व्यवसायीहरु व्यस्त हुने भएपछि आजको पेशी हटाइएको सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले बताए।
सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, सविता भण्डारी लगायतका वकिलहरु सर्वोच्च बारको अधिवेशनमा सहभागी हुने भएका हुन्।
नाबालिग किशोरीलाई जबरजस्ती बलात्कारको अभियोगमा थुनामा पठाइएका लामिछानेका कानुन व्यवसायीले गत २९ मंसिरमा पुनरावेदन दर्ता गराएका थिए।
नाबालिगले जबर्जस्ती करणी गरेको आरोपमा जाहेरी दिएपछि सन्दीपलाई प्रहरीले गत २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रक्राउ गरेर अनुसन्धान गरेको थियो।
सन्दीप र उनका वकिलले किशोरी नाबालिग नरहेको र जबरजस्तीकरणी नगरेको दाबी गरे पनि जिल्ला अदालतले पछि ठहरे बमोजिम हुने भन्दै तत्कालका लागि थुनामा पठाउने आहेश दिएको थियो।