काठमाडौं- देशभरको तापक्रम निरन्तर घट्दो रहेकाले सावधानी अपनाउन जल तथा मौसम विभाग विभागले आग्रह गरेको छ।
बिहीबार बिहान आगामी तीन दिनको मौसमी प्रक्षेपण प्रस्तुत गर्दै विभागको मौसम पूर्वानुमान महाशाखाले यस्तो आग्रह गरेको हो।
‘आगामी २४ घण्टा तराईका केही भूभागमा बिहानीपख हुस्सु कुहिरो लाग्ने र देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले भनेको छ।
महाशाखाका अनुसार हाल नेपालको पूर्वी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ। र, प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही तराईका थोरै भूभागमा हुस्सु कुहिरो लागेको महाशाखाले जनाएको छ।
आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने तथा राति प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
शुक्रबार प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने तथा शनिबार प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका १(२ स्थानमा हल्का वर्षाको सम्भावना महाशाखाले औंल्याएको छ।
यस्तै, शनिबार प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना देखिएको छ।