काठमाडौं- सर्लाहीमा चिसोले कठ्यांग्रिएर तीन जनाको मृत्यु भएको छ।
एक साताको अवधिमा चिसोले कठ्यांग्रिएर सर्लाहीको हरिपुरमा तीन जनाको मृत्यु भएको हो। मृत्यु हुने दुई जना मुसहर समुदायका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले भने चिसोले कठ्यांग्रिएर अहिलेसम्म जिल्लामा दुई जनाको मात्रै मृत्यु भएको पुष्टि गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक विजय यादवका अनुसार चिसोमा कठ्यांग्रिएर हरिपुर– ९ पिडारीका ५० वर्षीय राजेन्द्र चौधरी र हरिपुर– ६ लक्ष्मीपुरका ८० वर्षीय रामभगत माझी (मुसहर) को मृत्यु भएको हो।
हरिपुर – ९ कै ४० वर्षीय रमेश माझीको पनि चिसोले कठ्यांग्रिएर मृत्यु भएको स्थानीयले बताएका छन्। तर स्थानीय प्रहरी, प्रशासनले भने रमेशको मृत्यु चिसोले कठ्यांग्रिएर भएको पुष्टि गरिसकेका छैनन्। मृत्यु हुने सबै आर्थिक रूपमा विपन्न र ज्याला मजदुरी गर्ने परिवारका छन्।
चिसोका कारण रुघाखोकीले ग्रस्त भएका राजेन्द्र चौधरीको ४ पुसमा मृत्यु भएको डीएसपी यादवले जानकारी दिए।