कोलम्बो- संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) का अनुसार श्रीलंकाको ६२ लाख जनसंख्या भोकमरीमा परेको छ।
Advertisement
एफएओले जुनदेखि डिसेम्बर २०२२ सम्मको आफ्नो प्रतिवेदन सोमबार सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो। प्रत्येक १० घरपरिवारमा चारले आफ्नो आयमा कमी बेहोरिरहेका छन्। र, प्रत्येक दुई घरपरिवारमा एकले खाद्य असुरक्षाको खतरा अनुभव गरिरहेका छन्।
एफएओका अनुसार श्रीलंकाका ४० प्रतिशत नागरिक आफ्नो जीविकोपार्जनका लागि कृषिमा निर्भर छन्। र, सन् २०२२ मा धानको उत्पादन लागत १०० प्रतिशतभन्दा बढीले बढेको छ।
एफएओले स्थानीय बजारमा खाद्यान्नको आपूर्ति घट्दै गएको र श्रीलंकाका किसान र उनीहरूका समुदायहरूलाई सहयोग गर्ने अवसरको पर्खाइमा रहेको बताएको छ।
एफएओले सन् २०२२-२३ मा लागू हुने आफ्नो आपतकालीन सम्बोधनका लागि ५१.१७ मिलियन अमेरिकी डलर परिचालन गरेको बताएको छ।