काठमाडौं- अर्जेन्टिनाले आइतबार साँझ लुसेल स्टेडियममा विश्वकप उपाधिका लागि फ्रान्ससँग प्रतिस्पर्दा गर्दैछ।
कीर्तिमानी सातवटा बालोन ‘डि’ओर अवार्ड जितेका ३५ वर्षीय मेस्सीलाई विश्वकै उत्कृष्ट खेलाडी मानिन्छ, तर उनले हालसम्म विश्व फुटबलको सर्वोच्च उपाधि हासिल गर्न सकेका छैनन् ।
‘मानिसहरू फ्रान्सलाई उपाधिको प्रबल दाबेदार मान्छन् तर हामीसँग अहिलेसम्मकै उत्कृष्ट खेलाडी भएको फाइदा छ,’ अर्जेन्टिनी गोलकिपर इमिलियानो मार्टिनेज भन्छन्, ‘हामी सधैँ हाम्रो विपक्षी राम्रो भएको सुन्न चाहन्छौँ तर हामी कोहीभन्दा बलियो या कमजोर भएको ठान्दैनौँ । म जहिले पनि भन्छु हामीसँग अहिलेसम्मकै उत्कृष्ट खेलाडी छन् । र, राम्रो डिफेन्स भयो भने हामीसँग लक्ष्यसम्म पुग्ने प्रबल सम्भावना छ ।’
फ्रान्सका डिडिएर डेस्च्याम्पले आफ्नो कप्तानीमा फ्रान्सलाई सन् १९९८ को विश्वकप उपाधि दिलाएका थिए भने म्यानेजरका रूपमा चार वर्षअघि रुसमा अर्को उपाधि दिलाएका थिए । ‘मलाई थाहा छ विश्वभरका धेरै मानिस, केही फ्रान्सका पनि, चाहन्छन् कि लियोनेल मेस्सीले विश्वकप जितुन् । तर, हाम्रो उद्देश्य हासिल गर्नका लागि हामी सबै थोक दिनेछौँ ।’
के मेस्सीले सन् १९८६ पछि अर्जेन्टिनालाई पहिलोपटक विश्वकपको उपाधि दिलाउन सक्लान् ?
आजको फाइनलमा यो विश्वकपका दुई सर्वाधिक गोलकर्ता गोल्डन बुटको रेसमा आमने–सामने हुनेछन् । दुवै मेस्सी र एम्बाप्पलेले कतारमा पाँच–पाँच गोल गरेका छन् । त्यस्तै, फ्रान्समा ओलिभिए जिरु र अर्जेन्टिनाका जुलियन अल्भारेस एक गोलले पछि चार–चार गोलमा रहेका छन् ।
मेस्सीले सन् २०१४ मा ब्राजिलमा भएको फाइनलसम्म टोलीलाई डोर्याएका थिए । तर, मारियो गोट्जेले अतिरिक्त समयमा गोल गर्दै जर्मनीलाई उपाधि दिलाएका थिए ।
यस विश्वकपमा पनि पेरिस सेन्ट जर्मेनका खेलाडीले अर्जेन्टिनालाई बोकिरहेका छन् । पहिलो खेलमा उनले पेनाल्टीबाट गोल गरे पनि अर्जेन्टिना साउदी अरेबियासँग १–२ गोलले स्तब्ध बनेको थियो । त्यसपछिको महत्त्वपूर्ण मेक्सिकोलाई २–० ले हराउँदा पनि उनले गोल गरेका थिए । पोल्याण्डलाई २–० ले हराउँदै हराउँदै अर्जेन्टिना समूह सीको विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको थियो । प्रि–क्वार्टरफाइनलमा अस्ट्रेलियालाई हराउँदा पनि मेस्सीले गोल गरेका थिए ।
क्वार्टरफाइनलमा नेदरल्याण्डलाई पेनाल्टीबाट पाखा लगाउँदै अर्जेन्टिना सेमिफाइनलसम्म पुगेको थियो । सेमिफाइनलमा मेस्सीको एक गोल तथा म्यानचेस्टर सिटीका अल्भारेजको दुई गोलको मद्दतले अर्जेन्टिनाले क्रोएसियामाथि ३–० को सहज जीत हासिल गरेको थियो ।
अर्जेन्टिनाले हालसम्म दुईपटक विश्वकपको उपाधि जितेको छ, आफ्नो घरेलु मैदानमा सन् १९७८ र मेक्सिकोमा सन् १९८६ मा । आइतबार टोली तेस्रो उपाधिको खोजीमा हुनेछ ।
‘म अहिले नै भावुक भइरहेको छु किनभने टोलीले मैदानमा आफ्नो सबै कुरा दिएको छ,’ अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भन्छन्, ‘आशा गरौँ हामीले उपाधि जित्ने छौँ । यदि त्यो सम्भव भएन भने पनि उनीहरू आफूसँग गौरवान्वित हुनुपर्छ ।’
फ्रान्सको तयारमा बाधा
२३ वर्षीय एम्बाप्पे आफ्नो दोस्रो विश्वकपलाई पछ्याइरहेका छन् । फ्रान्सलाई फाइनलसम्म पुर्याउन उनको योगदान ठुलो छ ।
अस्ट्रेलियालाई ४–१ ले हराउँदा उनले एक गोल गरेका थिए भने डेनमार्कलाई २–१ ले हराउँदै एक खेल अगावै अन्तिम १६ मा स्थान बनाउँदा उनले दुई गोल गरे ।
तेस्रो खेलमा धेरै खेलाडीलाई आराम दिँदा फ्रान्स ट्युनिसियासँग १–० ले पराजित भए पनि समूह डीको विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको थियो ।
अन्तिम १६ मा एम्बाप्पेको दुई गोलको मद्दतले फ्रान्सले पोल्याण्डलाई ३–१ गोलले हरायो । क्वार्टरफाइनलमा इंग्ल्याण्डलाई २–१ ले पाखा लगाउँदै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको थियो ।
सेमिफाइनलमा यस विश्वकपको सर्प्राइज प्याकेज मोरक्कोलाई २–० ले हराउँदै चौथो पटक विश्वकपको फाइनलमा प्रवेश गरेको छ । यसमध्ये फ्रान्सले सन् १९९८ र २०१८ गरी दुई पटक विश्वकपको उपाधि जितेको छ भने सन् २००६ मा भने पराजित भएको थियो ।
यस विश्वकपको फाइनलको तयारीमा भने खेलाडीहरू बिरामी परेर धक्का लागेको छ । मिडफिल्डर एड्रियन राबियोट, डिफेन्डर डायोट उपामेकानो र विंगर किंग्सले कोमान बिरामी भएका छन् । ‘केही खेलाडीमा फ्लुको लक्षण देखिएको छ । यो अन्य खेलाडीलाई नफैलियोस् भनेर हामी सचेत छौँ,’ प्रशिक्षक डेस्च्याम्प्सले भने ।
-बीबीसी