त्रिशूली- नुवाकोटको विदुर नगरपालिकाको मुख्य बजार क्षेत्रको ढल व्यवस्थापनका लागि ‘विदुर ढल निर्माण तथा प्रशोधन आयोजना’को काम सुरु भएको छ ।
सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना चितवनमार्फत सञ्चालन गर्न लागिएको आयोजनाको विदुरका नगरप्रमुख राजन श्रेष्ठले आज शुभारम्भ गर्नुभयो । नगरप्रमुख श्रेष्ठले विदुर नगरपालिकाको मुख्य–मुख्य बजार क्षेत्र भएर बग्ने ढललाई एकीकृत गर्न र त्यसलाई प्रशोधन गरेर शुद्धीकरण गर्न महत्त्वका रुपमा लिइएको आयोजनालाई तोकिएको समयभित्र सम्पन्न गर्न नगरपालिकाका तर्फबाट आवश्यक सहयोगको प्रतिबद्धता जनाउनुभयो ।
“अहिले निर्धारण गरिएको क्षेत्राधिकार बढाएर तोकिएका वडाहरू २, ४, ५ र ६ नं को बढी जनघनत्व भएको क्षेत्र र केही वडा थप गर्न पहल गर्नुपर्नेछ”, उहाँले भन्नुभयो, “एकीकृत गरिने ढललाई शुद्धीकरण गर्न बनाइने ‘प्रशोधन केन्द्र’ निर्माण गन अब दोस्रो चरणको ठेक्का चाँडै लगाउन आयोजनाको कार्यालयलाई सहज बनाउनेछौँ ।”